कांग्रेस विशेष महाधिवेशन : निर्वाचनका लागि मनोनयन दर्ता शुरू

नेतृत्व चयनका लागि नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको उम्मेदवारी दर्ता प्रक्रिया शुरू भएको छ।

काठमाडौँ– नेतृत्व चयनका लागि नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको उम्मेदवारी दर्ता प्रक्रिया शुरू भएको छ। कांग्रेस विशेष महाधिवेशन पक्षले पार्टीको पुरानै विधानअनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको हो।

समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार, विधानबमोजिम एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्यका लागि निर्वाचन हुनेछ।

विशेष महाधिवेशनको कार्यविधिअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। हाल उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको समितिले जनाएको छ।

कार्यतालिका अनुसार अपराह्न ४:३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। लगत्तै ४:३० देखि ५:०० बजेसम्म उम्मेदवारीमाथि दाबी विरोध, ५:०० देखि ५:३० सम्म छानबिन र साँझ ५:३० देखि ७:३० बजेसम्म मनोनयन फिर्ताको समय तोकिएको छ।

निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली राति ८:४५ बजे प्रकाशन गर्नेछ भने नेतृत्व चयनका लागि मंगलबार राति ९:०० देखि १:०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

कांग्रेसको १४औँ महाधिवेशनमा कुल ४ हजार ७४३ मतदाता रहेका थिए। तीमध्ये निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाहरूलाई हटाउँदा हाल ४ हजार ६३५ महाधिवेशन प्रतिनिधि कायम छन्।