आउटलुकको ‘गेम चेन्जर’ सूचीमा नेपाली चिकित्सक पनि

भारतमा घुँडाको शल्यक्रिया तथा रिप्लेसमेन्टमा परिवर्तनकारी भूमिका खेलेका ७ चिकित्सकको सूचीमा हाडजोर्नी विशेषज्ञ डा. दीपक गौतम परेका हुन्।

काठमाडौँ– भारतीय म्यागजिन ‘आउटलुक’ले सूचीबद्ध गरेको ‘गेम चेन्जर अफ हेल्थकेयर’ मा एक नेपाली चिकित्सक पनि परेका छन्।

भारतमा घुँडाको शल्यक्रिया तथा रिप्लेसमेन्टमा परिवर्तनकारी भूमिका खेलेका ७ चिकित्सकको सूचीमा हाडजोर्नी विशेषज्ञ डा. दीपक गौतम परेका हुन्। स्याङ्जा घर भएका डा. गौतम अहिले मुम्बईस्थित एपोलो अस्पतालमा हाडजोर्नी विभाग प्रमुखका रूपमा कार्यरत छन्। 

रोबोटको सहयोगबाट घुँडाको शल्यक्रिया तथा रिप्लेसमेन्टमा उनले अब्बल स्थान बनाएका छन्। आउटलुकले उनको त्यही कार्यलाई प्राथमिकता दिएर स्थान दिएको जनाएको छ। डा. गौतमले कैयौँ व्यक्तिमा सफलतापूर्वक ‘रोबोटिक नी रिप्लेसमेन्ट’ गरिसकेका छन्। 

नेपालको मदन पुरस्कार गुठीबाट छात्रवृत्तिमा कलकत्ताबाट एमबीबीएस गरेका उनले दिल्लीस्थित एम्सबाट एमएस सकेका छन्। ‘डाइरेक्ट इन्टेरियर अप्रोच’ बाट हिप रिप्लेसमेन्टमा पनि उनी सफल चिकित्सक मानिन्छन्। अमेरिकन प्रविधिको प्रयोग गरेर धेरै सफल हिप रिप्लेसमेन्ट गरिसकेका छन्।

आउटलुक म्यागजिनले आधुनिक प्रविधिको प्रयोगबाट स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याएका चिकित्सकको सूचीमा डा. गौतमसँगै पुनेमा कार्यरत डा. नरेन्द्र वैद्य, बेंग्लुरूका डा. चन्द्रशेखर पी, चेन्नईका डा. मदन मोहन रेड्डी, दिल्लीमा कार्यरत डा. भूषण नरियानीलाई समेटेको छ। 

त्यस्तै, कोलकात्तामा कार्यरत डा.सन्तोष कुमार तथा मोहालीका डा. गगनदिप सचदेवालाई ‘गेम चेन्जर अफ हेल्थकेयर’ सूचीमा राखिएको छ।