कारागारमा ज्यान गुमाएका कैदीबन्दीका परिवारलाई ५ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले गत साउन २३ गते कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका चौधरीको परिवारलाई राहत दिने निर्णय गरेको हो। यसअघि साउन २५ गते मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतकको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने सिफारिस गरेको थियो। यसलाई मन्त्रिपरिषद्ले आइतबार औपचारिक स्वीकृति दिएको हो।

सडक मर्मत र कार्यविधि स्वीकृत मन्त्रिपरिषद्ले सुदूरपश्चिममा सडक मर्मत प्रणालीलाई संस्थागत गर्न 'सडक मर्मत समूह निर्देशिका' समेत स्वीकृत गरेको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाका अनुसार प्रदेश सरकारले निर्माण गरेका कालोपत्र सडकको नियमित मर्मतका लागि मर्मत समूहमार्फत काम गरिनेछ। यसबाट वार्षिक करिब २ सय किलोमिटर सडकको आयु लामो हुने अपेक्षा गरिएको छ।

यस्तै, बैठकले 'सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२' स्वीकृत गरेको छ। साथै, 'सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६' लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न समेत स्वीकृति प्रदान गरिएको छ।