कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र भोलि बिहान ८ बजेदेखि, गगनले राजनीतिक र विश्वप्रकाशले सांगठनिक प्रतिवेदन पेस गर्ने

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहान ८ बजेदेखि शुरू हुने बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले राजनीतिक र महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

काठमाडौँ– नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबार बिहान ८ बजेदेखि शुरू हुने भएको छ। बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

महामन्त्री शर्माले पेस गर्ने सांगठनिक प्रतिवेदनमा पार्टी संरचनालाई आधुनिक र समावेशी बनाउन केही प्रस्तावहरू समेटिएका छन्। सचिवालयका अनुसार प्रतिवेदनमा नेतृत्वको कार्यकाल सीमा तोक्ने एक्जिट पोलिसीलाई प्राथमिकतासाथ उठाइएको छ। जसमा एक व्यक्ति एक पटक मात्र राष्ट्रपति, बढीमा दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्र सांसद हुन पाउने पुरानै प्रस्तावलाई दोहोर्‍याइएको छ।

पार्टीका हरेक तहमा युवाको सुनिश्चित प्रतिनिधित्वका लागि उमेर समूहअनुसारको कोटा प्रस्ताव गरिएको छ। केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जना र ३०–४० वर्ष समूहका २० जनाको प्रतिनिधित्व गराउने, प्रदेश समितिमा ३० वर्षमुनिका १० र ३०–४० वर्ष समूहका १० जना, जिल्ला समितिमा दुवै उमेर समूहबाट ६–६ जना र वडा समितिमा दुवै उमेर समूहबाट ४–४ जनाको प्रतिनिधित्व रहने प्रस्ताव गरिएको छ।

प्रतिवेदनमा विभिन्न पेसा र व्यवसायमा रहेका विज्ञहरूलाई सिधै पार्टी संरचनामा भित्र्याउन ल्याटरल इन्ट्रीको व्यवस्थासमेत समावेश छ। त्यस्तै, विदेशस्थित जनसम्पर्क समितिहरूलाई समेटेर पार्टीको अन्तर्राष्ट्रिय संरचना बनाउने प्रस्ताव गरिएको छ। यसअन्तर्गत प्रत्येक देशका जनसम्पर्क समितिका वर्तमान र पूर्वअध्यक्षहरू सम्मिलित अन्तर्राष्ट्रिय परिषद् गठन गरिनेछ। २७ सदस्यीय अन्तर्राष्ट्रिय जनसम्पर्क समिति बनाइने प्रस्ताव प्रतिवेदनमा उल्लेख छ। यी प्रतिवेदनहरूमाथि सोमबारदेखि शुरू हुने बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूबीच विस्तृत छलफल हुनेछ।