२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

काठमाडौँ– मुलुकमा कुल विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकामा मंसिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८ खर्ब ६६ अर्बभन्दा माथि पुगेको हो।

बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकामा गत मंसिर मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ३५ अर्ब कायम भएको छ। गत मंसिर मसान्तको कूल विदेशी मुद्रा विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत छ।

चालु आवको पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

यस्तै, चालु आवको पाँच महिनामा खुद सेवा आय ३६ अर्ब ५४ करोडले घाटमा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ६७ करोडले घाटामा थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.७ प्रतिशतले कमी आई ३३ अर्ब ९७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३५ अर्ब २६ करोड थियो।

विदेश पढ्न जानेले लगे ५६ अर्ब ५२ करोड
त्यस्तै सो अवधिमा भ्रमण व्यय ५.३ प्रतिशतले वृद्धि भई ८८ अर्ब ९७ करोड पुगेको छ। त्यसमा शिक्षातर्फको व्यय ५६ अर्ब ५२ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८४ अर्ब ५० करोड रहेकामा शिक्षातर्फको व्यय ४७ अर्ब ४५ करोड थियो।