कञ्चनपुर–कमला सडकको म्याद तेस्रो पटक थप, ३० प्रतिशत काम अझै बाँकी

कञ्चनपुर–कमला सडक खण्डको ३० प्रतिशत काम अझै बाँकी छ। राष्ट्रिय गौरवको आयोजना भए पनि समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि धुलो, धुवाँ र सास्ती खेप्दै आएका छन्।

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला खण्डको चार लेन सडक निर्माण तोकिएको समयमा सम्पन्न हुन नसकेपछि तेस्रो पटक म्याद थप गरिएको छ। गत डिसेम्बरसम्म पश्चिमी खण्डअन्तर्गत कुशहाबाट कमलासम्मको ४७.४१ किलोमिटर सडकमा ७१ प्रतिशत मात्रै काम सम्पन्न भएपछि आगामी जुनसम्मका लागि म्याद थपिएको हो।

कञ्चनपुर-कमला पश्चिम खण्ड आयोजना शाखा मिर्चैयाका सूचना अधिकारी अनुपम साहका अनुसार निर्माण कम्पनीलाई थप छ महिनाको समय दिइएको छ। “औपचारिक पत्र आउन बाँकी छ। अबको ६ महिनाभित्र काम सक्नेगरी निर्माण कम्पनीले काम अघि बढाउनेछ”, उनले भने।

यस खण्डमा मिर्चैया र लहानमा निर्माण गरिने ‘ओभरपास’को काम शीतलहरका बाबजुद निरन्तर भइरहेको छ। दुई वटा ‘ओभरपास’ र तीनवटा ‘अन्डरपास’ निर्माण जारी रहेको आयोजना कार्यालयले जनाएको छ।

यसअघि लहान, गोलबजार, मिर्चैया र बन्दीपुर क्षेत्रमा ६ लेन सडक विस्तारका लागि हटाउनुपर्ने तीन सय ४० वटा विद्युत्का खम्बा नहटाउँदा निर्माणमा अवरोध आएको थियो। हाल खम्बा हटाउने काम सम्पन्न भएसँगै निर्माण सहज भएको साहले जानकारी दिए। “अब कुनै अवरोध नआए आगामी जुनसम्म काम सम्पन्न गर्ने लक्ष्य छ,” उनल‍‍े भने।

चाइना रेलवे-२ इन्जिनियरिङ ग्रुपले सन् २०२० जुनमा १५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का पाएको थियो। सम्झौताअनुसार ८५ किलोमिटर सडक चार लेन, पुल, कल्भर्ट र बाइपाससहित २८ अक्टोबर २०२३ मा सम्पन्न गर्नुपर्ने थियो। तर पटक–पटक म्याद थपिँदा पनि हालसम्म ३० प्रतिशत काम भने बाँकी छ।

आयोजनाको पूर्वी खण्ड कञ्चनपुर-कुशहा (३९.४२ किमी) र पश्चिमी कुशहा-कमला (४७.४१ किमी) गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ। वर्षौंदेखि निर्माणमा ढिलाइ हुँदा स्थानीयले धुलो, धुवाँ र सास्ती खेप्दै आएका छन्। राष्ट्रिय गौरवको आयोजना भए पनि समयमै काम नसकिँदा सर्वसाधारण निराश भएका छन्।