४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री गरे कारबाही

विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलमा अनुगमन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री नगर्न र गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ।

विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलमा एकैपटक अनुगमन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न निर्देशन दिएको छ। विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ। 

उपभोक्ता संरक्षण ऐन, ०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको उल्लेख गरेको छ।

विभागले निरुज प्लास्टिक उद्योग, एमएन प्लास्टिक उद्योग, नेसनल प्लास्टिक इन्डस्ट्रिज, कुँवर फर्निचर उद्योग, दीक्षा स्टोरलाई आवश्यक निर्देशन दिएको छ। 

यस्तै, पशुपतिनाथ इन्टरप्राइजेज, युनिभर्सल ट्रेडर्सलगायत प्लास्टिक उद्योग, पसल तथा आयातकर्तालाई ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाको बिक्री वितरण नगर्न नगराउन आवश्यक निर्देशन दिएको छ।