प्रतिकूल बकपत्र गर्ने दुई सरकारी साक्षीविरुद्ध मुद्दा दायर

अनुसन्धानका क्रममा दिएको बयान इन्कार गर्दै अदालतमा प्रतिकूल बकपत्र गरेको अभियोगमा अख्तियारले दुई सरकारी साक्षीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा रहेका प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव प्रतिवादी रहेको घुस लेनदेनसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका ठगुन्ना र साउदले अदालतमा उपस्थित भई अनुसन्धानका क्रममा दिएको बयानभन्दा फरक बकपत्र गरेपछि आयोगले उनीहरूविरुद्ध नै मुद्दा चलाएको हो।

आयोगका अनुसार, कैलालीको चुरे गाउँपालिका-६ बस्ने ठगुन्ना र गोदावरी नगरपालिका-२ बस्ने साउदले गत मंसिर २५ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई इन्कार गरेका थिए।

अनुसन्धानका क्रममा उनीहरूले वन अधिकृत यादवलाई सात लाख ३१ हजार रुपैयाँ घुस दिएको स्वीकार गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुटको सुविधा लिएका थिए।

तर, पछि गैरकानूनी स्वार्थ र सम्पर्कका कारण उनीहरूले झुट्टा व्यहोरा लेखाई प्रतिकूल बकपत्र गरेको पुष्टि भएको आयोगले जनाएको छ। उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर ठहरिने भएकाले आयोगले दुवै प्रतिवादीलाई जनही ७ लाख ३१ हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिबाना र घुस रकम जफतको मागदाबीसहित बिहीबार आरोपपत्र दायर गरेको हो।