सातदिने ‘वर्ल्ड म्याराथन च्यालेञ्ज’मा दौडिँदै जोशी

अन्टाकर्टिकाबाट शुरू भएर अमेरिकाको मियामीमा सम्पन्न हुने म्याराथनमा सहभागी हुने जोशी एक्लो नेपाली हुन्।

काठमाडौँ– सात महादेशमा सातदिन लगातार सञ्चालन हुने ‘वर्ल्ड म्याराथन च्यालेञ्ज’मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन्।

अन्टाकर्टिकाबाट शुरू भएर अमेरिकाको मियामीमा सम्पन्न हुने म्याराथनमा सहभागी हुने जोशी एक्लो नेपाली हुन्। म्याराथन जनवरी ३१ मा शुरू भएर फेब्रुअरी ६ (माघ १७ देखि २३ गतेसम्म)मा सम्पन्न हुनेछ।

जोशी २६.२ माइल (४२.१९ किमी) दूरी रहने म्याराथनका सात वटा सिरिजमा २९४ किमी दूरी सात दिनमा दौडिने छन्। उनी नेपाली पोसाक दौरा सुरुवालमा दौडिने छन्। यो म्याराथन सन् २०१५ मा शुरू भएको हो। 

म्याराथनमा अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्युजिल्यान्ड, रोमानियासहित ३० भन्दा बढी देशका ५४ जना धावक सहभागी हुनेछन्।

स्वस्थ रहन दौडिन थालेका जोशी २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिँदै आएका  छन्। सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन्। 

नेपाल र अमेरिकाको झन्डा बोकेर दौडिने जोशीले यो म्याराथनलाई नेपाली सम्पदा र नेपालको प्रचारप्रसार गर्ने अवसरका रूपमा लिएका छन्।