अत्यधिक हिमपात र प्रतिकूल मौसमका कारण फ्रान्समा ५ जनाको मृत्यु भएको छ भने युरोपभरका प्रमुख विमानस्थल र यातायात सेवा ठप्प भई जनजीवन कष्टकर बनेको छ।
युरोपका विभिन्न देश हिमपात र अत्यधिक चिसोका कारण प्रभावित भएका छन्। प्रतिकूल मौसमका कारण फ्रान्समा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। युरोपकै व्यस्त विमानस्थलबाट सयौँ उडान रद्द भएका छन्। सडक, रेल र हवाई यातायात अवरुद्ध हुँदा समग्र युरोपको जनजीवन अस्तव्यस्त बनेको छ।
फ्रान्सको दक्षिण-पश्चिमी ल्यान्डेस क्षेत्रमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्। पेरिस वरपरको इले–डे–फ्रान्स क्षेत्रमा पनि कम्तीमा दुई जनाको ज्यान गएको छ।
सोमबार भारी हिमपातका कारण ठूलो ट्राफिक जाम भएपछि अधिकारीहरूले सडकबाट ट्रक हटाउन आदेश दिएका थिए। मंगलबार बिहान पेरिसका घरका छाना र ऐतिहासिक स्थलहरू हिउँले ढाकिएका देखिए।
विद्यालय बन्द हुँदा बालबालिका उत्साहित देखिए पनि यात्रुहरू भने मर्कामा परेका छन्। किनकि, उत्तर र पश्चिम फ्रान्सका ६ वटा विमानस्थल भारी हिमपातका कारण बन्द गरिएका छन्।
नेदरल्यान्ड्समा पनि अवस्था गम्भीर रह्यो। एम्स्टर्डमको सिफोल विमानस्थलले करिब ४०० उडान 'ग्राउन्डेड' भएको जनाएको छ। रनवे सफा गर्न र विमानको 'डि-आइसिङ' गर्न ढिलाइ हुँदा सोमबार पनि सयौँ उडान रद्द भएका थिए। थप हिमपातको पूर्वानुमानसँगै रेल सेवा पनि प्रभावित भएको छ।
राष्ट्रिय रेलवे कम्पनी एनएसले सीमित सेवा मात्र सञ्चालन भएको र अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ। सडकको चिप्लोपनका कारण यात्रुहरूले लामो र कष्टकर यात्रा भोग्नुपरेको छ।
इटालीको रोममा भने निरन्तर वर्षाले समस्या निम्त्याएको छ। टाइबर नदीको सतह बढ्दा जोखिम बढेपछि मेयर रोबर्टो गुअल्तेरीले पार्क र जोखिमयुक्त क्षेत्रहरूमा सार्वजनिक पहुँच सीमित गर्न आदेश जारी गरेका छन्।
यही कारण पोप लियो चौधौँको ‘एपिफेनी आशीर्वाद’ कार्यक्रममा सेन्ट पिटर स्क्वायरमा सीमित श्रद्धालु मात्र उपस्थित भएका थिए। उत्तरी इटालीको बोलोग्ना हिउँले ढाकिएको छ भने डोलोमाइट्स क्षेत्रमा 'स्कियर'हरूका लागि भने अनुकूल अवस्था बनेको छ।
बेलायतको उत्तरी भागमा चिसो अत्यधिक बढेको छ। रातको तापक्रम माइनस १२.५ डिग्री सेल्सियससम्म झरेको छ। हिउँ र बरफका कारण रेल, सडक र हवाई सेवा प्रभावित हुँदा सयौँ विद्यालय बन्द गरिएका छन्।
खेलकुद कार्यक्रमहरू रद्द भएका छन् भने ग्लासगोको सबवे र लिभरपुलको जोन लेनन विमानस्थल केही समयका लागि बन्द गर्नुपरेको थियो। उत्तर स्कटल्यान्डमा थप १५ सेन्टिमिटरसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको छ। सांसद एन्ड्र्यु बोवीले अवस्थालाई गम्भीर बताउँदै राहत र आपूर्तिका लागि सेना परिचालन गर्न आग्रह गरेका छन्।
बाल्कन क्षेत्र पनि प्रतिकूल मौसमबाट अछुतो रहेन। बोस्निया, सर्बिया र आसपासका देशहरूमा भारी हिउँ र वर्षाका कारण नदीहरूको सतह बढेको छ, यातायात अवरुद्ध भएको छ र विद्युत् तथा पानी आपूर्तिमा समस्या आएको छ।
सारायेभोमा हिउँले ढाकिएको रूखको हाँगा खस्दा एक महिलाको मृत्यु भएको छ। सर्बियाका केही नगरपालिकामा आपत्कालीन अवस्था घोषणा गरिएको छ र अधिकारीहरूले यात्रामा अत्यन्त सावधानी अपनाउन आग्रह गरेका छन्।
एड्रियाटिक तटमा भने तीव्र हावा र आँधीबेहरीले क्षति पुर्याएको छ। क्रोएसिया र मोन्टेनेग्रोका तटीय क्षेत्रमा समुद्री छाल बस्तीसम्म पसेका दृश्य सार्वजनिक भएका छन्। –रासस/एपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
