कांग्रेस दलभित्र गगनकुमार थापाको नेतृत्वमा हुँदै गरेको विद्रोहले गति लिँदैछ। तिनी सफल भएको खण्डमा नेपाली कांग्रेस (शेरबहादुर) तथा नयाँ नेपाली कांग्रेस गठन हुने प्रबल सम्भावना देखिन्छ।
शंका र उपशंकाबीच, तोकिएकै दिन (फागुन २१) मा संघीय चुनाव सम्पन्न हुने प्राय: निश्चित छ। अझै पनि केही प्रश्नहरू उब्जने गर्छ। जस्तै: चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न होला? कथम् कदाचित् हिंसा भड्केकै कारण चुनाव 'भाँडियो' अथवा स्थगन गर्नुपर्ने वाध्यात्मक परिस्थिति आइपर्यो भने के हुन्छ? भंग गरिएको संघीय संसद्लाई यही बीचमा कतै अदालतले ब्युँझाइ दिने त होइन? यस्ता प्रश्नको उत्तर खोज्दा कपाल कन्याउन बाध्य होइन्छ। यावत् प्रश्नका बीच मलाई घोचिरहने प्रश्नचाहिँ चुनाव सम्पन्न भएपछि मुलुकले कस्ता चुनौतीको सामना गर्नुपर्ला भन्ने हो। के आजका दिन हामीले भोगेको नियति भोलि समेत दोहोरिने त होइन?
आज
विशेष गरी एक तिहाइभन्दा बढी जनसंख्या (सम्भ्रान्त, मध्यम वर्ग, उद्यमी/व्यवसायी तथा तिनको परिवार)ले जिउधनको सुरक्षा भएको महसुस गर्न सकिराखेका छैनन्। जेनजीको अगुवाइमा भएको दुई दिने आन्दोलन (भाद्र २३/२४) का क्रममा जेलबाट भागेका कैदीमध्ये अझै ७ हजारभन्दा बढी अझ फरार भएको तथ्य यहाँ सबैभन्दा प्रमुख कारक हो। भीडले जनपद प्रहरीबाट खोसेको-लुटेको मध्ये पाँच सय थानभन्दा बढी हतियार तथा हजारौँ गोलीगठ्ठा गायब छन्। घुसपैठ गरेर आपराधिक कार्य तथा आगजनी मच्चाउनेदेखि हिंसा भड्काउन जिम्मेवार चिरपरिचित पात्रहरू खुलेआम सडकदेखि टेलिभिजन पर्दामा देखा पर्ने क्रमले पक्कै राम्रो संकेत दिँदैन।
जेनजी आन्दोलनको राप तापले देशको इतिहासमै पहिलो पटक, संसदमा अत्यन्त ठुलो बहुमत प्राप्त गरेको सरकारलाई सडकले विस्थापित गर्यो। सरकारको पतनसँगै एक दशक लामो अवधियता निरन्तरता पाउँदै गरेको तीन ठुला दल/नेताले सञ्चालन गरेको 'माफिया शैली'को नेता तन्त्रको अन्त भएको छ। भागबन्डाको राजनीति तथा व्यापक राष्ट्रिय कोशको लुटतन्त्रबाट नागरिकले उन्मुक्ति पाएको अनुभूति गर्दै छौँ। आन्दोलनकारीको अगुवाइमा गठित, छ महिना घोषित कार्यकाल भएको अन्तरिम सरकार झन्डै चार महिनायता कार्यरत छ।
आन्दोलनले खलबलिएको राजनीतिक अवस्था भने अझै तरल छ। एकातिर देशवासीले भोगेको नियति आत्मसात् गर्दै चिरपरिचित 'कमसल' राजनीतिक पात्रहरू विस्थापित गर्ने वाचाका साथ 'असल' नागरिकहरू धमाधम राजनीतिमा प्रवेश गर्दैछन्। नयाँ राजनीतिक दलहरू निर्माणाधीन छन्। चुनावको संघारमा आइपुग्दा 'वैकल्पिक राजनीतिक शक्ति' निर्माण उन्मुख भएका नयाँ दलबीच तीव्र ध्रुवीकरण/एकीकरण हुँदैछ। विडम्बना, वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ उन्मुख दलमा देखा परेको चारित्रिक गुण नियाल्ने हो भने विगतका दलहरूभन्दा ती पृथक् देखिएका छैनन्। ती व्यक्तिपरक छन्, राजनीतिक सिद्धान्त तथा आस्थाविहीन छन्। राजनीतिक तथा आर्थिक उद्देश्य, नीति तथा कार्यक्रमतर्फ भन्दा पुराना दललाई विस्थापन गरेर सत्तासीन हुनेतर्फ मात्रै तिनको ध्यान केन्द्रित छ।
नेपाली कांग्रेसमा हुँदै गरेको यथास्थितिवादी तथा परिवर्तनकारी बीचको संघर्षलाई अपवाद मान्ने हो पुराना दलहरू भ्रष्ट कहलिएका नेताहरूकै चंगुलमा छन्। तिनै नेतालाई लागेका भ्रष्टाचारका आरोपबाट जोगाउने उद्देश्यले नयाँ समीकरण निर्माणतर्फ उन्मुख हुँदैछन्।
आर्थिक क्षेत्रतर्फ नजर घुमाउने हो भने अर्थतन्त्रको 'बाहिरी क्षेत्र' उत्साहजनक छ। वैदेशिक रोजगारी उन्मुख श्रमजीवीको संख्यामा अपार वृद्धि आउँदैछ। पर्यटक भित्रने क्रमले गति प्राप्त गर्दैछ। सरकारले संकलन गर्दै गरेको राजश्व निराशाजनक छैन। वैदेशिक सञ्चित मुद्राले १७ महिनाको आयात आवश्यकता पूर्ति गर्ने क्षमता राख्छ। व्यापार घाटा चुलिए पनि सोधान्तर स्थिति सन्तोषजनक छ।
समग्रमा देशको अर्थतन्त्र विनाशकारी भूकम्प, 'अघोषित नाकाबन्दी' तथा कोभिड महामारीले पहिल्यै थलिएको निर्धो अर्थतन्त्र तङ्ग्रन भने सकेको छैन। शिथिल अर्थतन्त्रलाई उकास्ने प्रमुख सर्त लगानी बढाउनु हो। जेनजी आन्दोलनको रापतापले पिल्सिएका उद्यमी लगानी बढाउन आलटाल गर्दैछन्। साना साना बचतकर्ता 'ट्यांका'भित्र पैसा राख्दा असुरक्षित हुने कारण तथा 'सहकारी ठगी प्रकरण'को प्रकोपले गर्दा बैंकमा रकम जम्मा गर्न बाध्य छन्।
विगतमा बचत आकर्षित गर्न अग्रसर थिए सबै वाणिज्य बैंकहरू। तर अब चुलिँदै गएको बचत संकलनलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बचतकर्तालाई निरुत्साहित तुल्याउने नीति अख्तियार गर्दैछन् उनीहरू समेत। बचतकर्ताले बैंकबाट प्राप्त गर्ने ब्याजदर पिँधमा पुगेको छ। मुद्रास्फीति भन्दा ब्याजदर कम भएको हुनाले बैंकमा रकम राख्दा घाटा हुन्छ। 'देखाउन' अर्थात् 'भेबलन गुड' उन्मुख हुने खातापिता नेपालीहरू 'नेपो किड्स'का कारण अलि हच्किए पनि खपततर्फ उदार भएर खर्च गर्नेतर्फ अग्रसर हुँदैछन्।
लगानीकर्ता निराश भएको अवस्थामा वाणिज्य बैंकसँग जे जति रकम थुप्रिँदै छ, त्यसलाई नेपाल राष्ट्र बैंक (नेराबै) लाई सुम्पेर राहत महसुस गर्दैछन्। राष्ट्र बैंक तरलता 'न्यूनीकरण गर्न' वाणिज्य बैंकबाट 'रकम खिच्न'तर्फ अग्रसर छ। भण्डारमा चुलिँदै गरेको वैदेशिक तथा स्वदेशी मुद्रा भण्डारलाई कसरी सदुपयोग गर्ने? सक्षम अर्थमन्त्री तथा अब्बल अर्थशास्त्री नेराबै गभर्नर दुवै माथा पच्चिसे गर्न व्यस्त छन्। हालसम्म उहाँहरूले अख्तियार गरेको लगानी प्रवर्द्धन नीति घाइते अर्थतन्त्रमा 'ब्यान्ड एड' साबित हुन पनि सकिराखेको छैन।
सुरक्षा स्थिति तथा अर्थ राजनीतितर्फ नियाल्दा, भाद्र २३ र २४ को जेनजीले नेतृत्व गरेको आन्दोलनले ल्याएको परिवर्तनलाई 'नव बिहानी'मा रूपान्तरण गर्न सकिएको छैन।
आजका दिन आउनका कारण
राष्ट्रले भोगेको आजको नियति विगतमा अख्तियार गरिएका राज्य सञ्चालन प्रक्रियाको परिणाम मान्न सकिन्छ। नेपाली राज्य सञ्चालनको सबैभन्दा दुष्ट पक्ष 'नेतृत्व'को 'भ्रूण हत्या' गर्ने परम्परा मान्न सकिन्छ। 'नेतृत्व' जन्मिने सम्भावनाका ढोकाहरू बन्द गर्दैमा बित्यो राणाकालीन १०४ वर्ष लामो एकतन्त्रीय शासनकाल। प्रजातन्त्र प्राप्ति पछिको एक दशक (२००७ साल देखि २०१७ को क्रान्ति) राज्यका प्रत्येक अंगमा 'नेतृत्व' उम्रन थालेका थिए। त्यस्ता प्रयासलाई निमोठ्न अग्रसर रह्यो–राजा मात्र नेता हुने तीन दशक लामो अवधि। जनस्तरबाट नेतृत्व विकास हुने सम्भावनाका सबै ढोका बन्द गरिए। राजाको एकल एवं 'सबल नेतृत्वमा' सञ्चालित पञ्चायतकालीन नेपालमा राजनीति, सुरक्षा, प्रशासन तथा न्यायिक सेवामा हाबी हुन राजाप्रतिको भक्ति तथा पञ्चायत प्रतिको निष्ठा अनिवार्य सर्त थिए। पञ्चायतको अवधि भर नै जनस्तरबाट नेतृत्व जन्मन निषेध गरिएको थियो।
प्रथम जनआन्दोलनले पञ्चायती प्रणालीको अन्त गर्यो। राजनीतिक परिवर्तन भयो, तर उतिखेर चयन भएका तथा हाबी हुँदै गरेका नयाँ नेतृत्वमा राज्य सञ्चालनको पूर्व अनुभव थिएन। नव नेतृत्वले अन्यत्रको क्रान्तिले झैँ शासन सञ्चालन प्रणालीमा आमूल परिवर्तन गर्ने हिम्मत देखाउन चाहेन बा सकेन। राज्य सञ्चालनका निम्ति जन निर्वाचित नेताहरू पञ्चायत प्रणाली प्रशिक्षित संरचना निर्भर भए। फर्केर हेर्ने हो भने तिनले अपवादको रूपमा २००७ देखि २०१७ को लोकतान्त्रिक प्रणालीमा हुर्केका प्रशासक तथा न्यायाधीश उपयोग गर्न खोजे। ढल्कँदो उमेरकै कारण त्यस्ता पात्रहरूको क्षमता क्षय भइसकेको थियो। वर्चस्वचाहिँ पञ्चायत स्कुलिङमा प्रशिक्षित पात्रहरूकै रह्यो। उनीहरूले बहुदलीय लोकतान्त्रिक प्रणालीमा पञ्चायती 'कुसंस्कार'लाई निरन्तरता दिए।
युवाकलामा अत्यन्त दयनीय आर्थिक अवस्था बेहोरेका राजनीतिक पात्रहरू प्रथम जनआन्दोलनपश्चात् सत्तासीन हुन पुगे। सत्तासीन भएपछि तिनले देशवासीको जीवनस्तर उकास्नभन्दा पञ्चायती शैलीको भ्रष्टाचारमा रमाउन थाले। हेक्का होस्, पञ्चायतकालीन दुहुनो गाईको रूपमा प्रयोग हुँदै आएको तत्कालीन शाही नेपाल एयरलाइन्स (नेपाल एयरलाइन्स) निर्वाचित सरकारको प्रथम निशानीमा पर्यो। निर्वाचित सरकारले भ्रष्टाचारको श्रीगणेश धमिजा काण्डबाट गरेको थियो।
भ्रष्टाचार मौलाएको कालखण्डमा उत्तराधिकारी 'ग्रुम' गर्ने प्रथा आदर्शमै सीमित रहे। उदाउन लागेको नव नेतृत्वलाई स्थापित नेतृत्वले चुनौती ठान्न थाल्यो। बिरुवाकै अवस्थामा रहेको नेतृत्वको सकेसम्म चारित्रिक हत्या गर्ने परिपाटी अपनाइयो। स्मरण होस्, कांग्रेसभित्र गणतन्त्र स्थापनाको वकालत गर्ने नेता गगनकुमार थापालाई तिनी आबद्ध दल नेता एवम् प्रधानमन्त्रीले 'दरबार द्वारा सञ्चालित' लाञ्छनाको भारीसमेत बोकाए।
भ्रष्टाचार लिप्त नेतृत्वले घोटालाको ढाकछोप गर्नकै निम्ति राम्रालाई नभएर आफ्नालाई काखी च्याप्ने संस्कार अख्तियार गरे। राणा तथा पञ्चायतकालीन 'नेतृत्व'कै दुर्गुण डुङ्डुङ्ती बोकेर बसेका छन् नेपाली राज्यसंचालकहरू। उत्तरयित्वबिहिन र जबाफदेहिताबिहिन पुरानै राज्य सञ्चालन परिपाटीले पनि निरन्तरता पाउँदै आएको छ। विगतमा राजा महाराजा मात्र होइन, तिनका परिवार सदस्यसमेत कानुनभन्दा हुन्थे। बहुदलीय प्रणालीमा हाबी भएका नेताहरूले पुरानै अभ्यासको देखासिकी गर्दै पञ्चायती 'रिक्तासन' भर्न प्रयत्नशील छन्। नागरिकप्रति जिम्मेवार र जबाफदेही नेतृत्व नहुँदा राष्ट्रवासीले आजको नियति भोग्नु परेको हो।
भोलि (चुनाव पश्चात्)
१) कुप्रथा, कुसंस्कार तथा पद्धतिले निरन्तरता पाउने–पुरानै दिन फर्काउन 'तीन ठुला दल'का नेताले भगीरथ प्रयत्न गर्दैछन्। चुनावको पूर्व सन्ध्यामा उनीहरूबीच एकता कायम गर्ने प्रयास हुँदैछ। संयुक्त मोर्चा निर्माण गरेर उनीहरू उदयमान नयाँ शक्तिलाई परास्त गर्न जुट्दै छन्। खडगप्रसाद ओली तथा पुष्पकमल दाहालले राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेका शेरबहादुरलाई पुनः सक्रिय हुन प्रेरित गरे। यतिखेर शेरबहादुर देउवा आफ्नो दललाई टुक्र्याउन अग्रसर भएका छन्। दाहालले 'म्याजिक नम्बर'कै आधारमा भए पनि पुनः प्रधान मन्त्री पद प्राप्त हुने विश्वास दिलाउँदै छन् ओली। आखिर तीनमध्ये एकले सत्ता प्राप्त गर्न नसकेको अवस्थामा विगतका आफ्ना कर्तुतहरूबाट कोही पनि सुरक्षित रहन सम्भव हुनेछैन।
२) राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गर्ने– वैकल्पिक राजनीतिमा हाबी भएको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी हो। यो दल व्यक्तिमुखी छ। दलको एकल उद्देश्य स्थापित तीन 'डन'लाई विस्थापित गरेर राज्यसत्ता प्राप्त गर्नु हो। यस दलमा यतिखेर ऐक्यबद्धता जनाउने नेताहरूबीच विगतमा सहकार्यको कुनै अनुभव छैन। न त यस दलमा तिनलाई बाँधी राख्ने कुनै राजनीतिक सूत्र र विचार नै छ। यस दलले चुनावमा बहुमत कायम गर्ला, तर पनि शक्ति र स्वार्थका कारण कतिखेर फुट्ने हो भन्ने निश्चित छैन। ओली-प्रचण्डले निर्माण गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकार, दाहाल र देउवाको संयुक्त मोर्चा, दाहाल-ओली, दाहाल-देउवा तथा ओली-देउवाले गरेका ताण्डव नृत्यको बखान यतिखेर जरुरी छैन।
भारतमा सन् १९७७ को राष्ट्रिय चुनावमा इन्दिरा गान्धी र उनको दललाई हराउन सर्वोदय नेता जयप्रकाशको आशीर्वाद पाएका चन्द्रशेखर अध्यक्ष भएको जनता पार्टी गठन भएको थियो। उक्त दलमा भारतका कम्यनिष्ट तथा इन्दिरा गान्धीले नेतृत्व गरेको कांग्रेस दलबाहेक सबै प्रमुख दल समायोजित भएका थिए। मोराजी देशाईँ, जगजीवनराम, चरण सिंह, अटल बिहारी बाजपेयी, जर्ज फर्नान्डिज, मधुदण्डबते आदि गठबन्धनका प्रमुख नेता थिए।
जनता पार्टी अन्ततः इन्दिरा गान्धी तथा तिनको नेतृत्वमा रहको कांग्रेस पार्टी (आई) लाई विस्थापित गर्न सफल भयो। इन्दिरा गान्धीलाई परास्त गर्ने जनता दल तीन वर्ष पनि (मार्च १९७७ देखि जुलाई १९७९) टिक्न सकेन। त्यस्तै, सन् १९८९ मा राजीव गान्धी नेतृत्वको सरकार तथा दल (कांग्रेस) त्यागेर भीपी सिंहको नेतृत्व तथा सर्वदलीय सहमतिमा अर्को वैकल्पिक शक्ति अभ्यास गरियो। जनता दल खोलियो। राजीव गान्धीले नेतृत्व गरेको कांग्रेस दललाई विस्थापित गर्न सफल भयो सो दल। तर जनता दलको शासनकाल एक वर्षमै सीमित रह्यो। त्यसपश्चात् जनता पार्टीजस्तै जनता दल पनि छिन्नभिन्न भयो।
कांग्रेस दलभित्र गगनकुमार थापाको नेतृत्वमा हुँदै गरेको विद्रोहले गति लिँदैछ। तिनी सफल भएको खण्डमा नेपाली कांग्रेस (शेरबहादुर) तथा नयाँ नेपाली कांग्रेस गठन हुने प्रबल सम्भावना देखिन्छ। गगन थापा वर्तमान कालखण्डका सर्वाधिक चर्चित र काबिल नेता हुन्। तिनमा सहभागिता जुटाउने अपार शक्ति देखिँदै आएको छ। अर्कोतर्फ, जेनजी आन्दोलनका अगुवाहरूले सार्वजनिक तथा अन्तर्वार्ताको क्रममा बोलेको सुन्दा नवनेतृत्व उदाउन थालेको आभास पाइन्छ।
लोकतन्त्र प्रतिको तिनको आस्था र विचार पर्गेल्दा थापाले सार्वजनिक गरेका विचारहरूसँग मिल्दोजुल्दो पाइन्छ। कालान्तरमा उनीहरू पनि गगनले नेतृत्व गरेको नेपाली कांग्रेस दलमा समावेश हुने प्रबल सम्भावना देखिन्छ। त्यसो हुन गयो भने देशमा नेतृत्व निमोठ्ने क्रम भंग हुनेछ। युवाले नेतृत्व हत्याउने अभ्यास सुरु हुनेछ।
(उकालोको विचार खण्डमा प्रकाशित सामग्री व्यक्तिका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
