सुरक्षा ग्यारेन्टीका लागि युक्रेनका सहयोगीबीच पेरिसमा बैठक

छलफलका लागि २७ राष्ट्र प्रमुखसहित ३५ देशका प्रतिनिधि पेरिसमा भेला हुने फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनाएका छन्।

सुरक्षा ग्यारेन्टीका लागि युक्रेनका सहयोगीबीच पेरिसमा बैठक
फाइल तस्वीर: एपी

युक्रेनका प्रमुख सहयोगीहरू शीर्ष अमेरिकी दूतसँग सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न मंगलबार पेरिसमा भेला हुने भएका छन्। रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी योजना अगाडि बढिरहेको अवस्थामा यो बैठक हुन लागेको हो। 

दोस्रो विश्वयुद्ध पछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्लो समयमा गति लिएको जनाइएको छ। छलफलका लागि २७ राष्ट्र प्रमुखसहित ३५ देशका प्रतिनिधि पेरिसमा भेला हुने फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनाएका छन्। 

युक्रेनको सुरक्षा ग्यारेन्टीमा वासिङ्टन र युरोपेली सहयोगीले संयुक्त प्रयास गर्ने उद्देश्य रहेको उनको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफसहित फ्रान्स र बेलायतले गठबन्धनको बैठकमा भाग लिने जनाइएको छ।  

कूटनीतिक स्रोतका अनुसार, बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, बेलायती प्रधानमन्त्री कीर स्टारमर, जर्मन चान्सलर फ्रेडरिक मेर्ज, इटालीका जर्जिया मेलोनी र क्यानडाका मार्क कार्नी पनि सहभागी हुने अपेक्षा गरिएको छ।

बैठकमा सम्भावित राजनीतिक सम्झौताको एक हिस्साको रूपमा ‘युक्रेनलाई आश्वासन दिन’ बहुराष्ट्रिय बल तैनाथ गर्नेबारे पनि छलफल हुने फ्रान्सेली राष्ट्रपति म्याक्रोनले बताएका छन्। 

छलफलको आधार तयार गर्न, बेलायत, फ्रान्स र जर्मनी लगायत १५ देशका सुरक्षा सल्लाहकारका साथै नेटो र युरोपेली संघका प्रतिनिधि यसअघि भर्चुअल बैठकमा सहभागी भएका थिए। 

पछिल्लो समयमा सम्झौता ९० प्रतिशत तयार रहेको किएभले बताएको छ। यद्यपि मस्को र किएभ दुवै युद्धपछिको सम्झौताका प्रमुख मुद्दामा सहमत हुन सकेका छैनन्। 

युक्रेनको करिब २० प्रतिशत ओगटेको रुसले सम्झौताको एक हिस्साका रूपमा देशको पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रणका लागि दबाब दिइरहेको छ। (रासस/एएफपी)