वीरगन्जमा दिउँसो १ बजेसम्म कर्फ्यु

कर्फ्यु लागेको समयमा पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकाराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाइएको छ।

वीरगन्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
रासस

वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्युको समय दिउँसो १ बजेसम्म थप गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास भइरहेकाले कर्फ्यु समय बढाइएको बताए।

“वीरगन्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यु आदेश जारी गरिएको छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकाराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ। 

प्रजिअ दाहालले कर्फ्युका बेलामा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कन अनुरोध गरे। कर्फ्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।

प्रशासनले यसअघि सोमबार बेलुका ६ बजेदेखि मंगलबार बिहानसम्म कर्फ्यु आदेश जारी गरेको थियो। 

धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडको विरोधमा वीरगन्जका मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए।

मुस्लिम समुदायको प्रदर्शनको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति र सोमबार बिहानैदेखि प्रदर्शन गरेपछि वीरगन्जको स्थिति तनावग्रस्त भएको थियो।