बुटवलमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको मृत्यु

बुटवलमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरी हवल्दारको गाडीको ठक्करबाट मृत्यु भएको छ।

लुम्बिनी– रूपन्देहीको बुटवलमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरी हवल्दारको गाडीको ठक्करबाट मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको धागो कारखानानजिकै सोमबार साँझ बाग्मती प्रदेश १–०३३ च ००७७ नम्बरको क्रेटा कारले ठक्कर दिँदा हवल्दार नागेश्वर पालको मृत्यु भएको हो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार सडकमा ड्युटी गरिरहेका पाललाई तीव्र गतिमा रहेको कारले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने कार र त्यसका चालक गुल्मीको रेसुंगा नगरपालिका–१ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।