मुगुमा जिप दुर्घटना हुँदा सेनाका अमलदारको मृत्यु

मुगुको रारा क्षेत्रमा सैनिक पुर्‍याएर फर्कने क्रममा जिप दुर्घटना हुँदा चालक हरिसिंह ऐडीको मृत्यु गएको छ।

मुगु– मुगुमा जिप दुर्घटना हुँदा नेपाली सेनामा कार्यरत सवारी चालक (अमलदार) हरिसिंह ऐडीको मृत्यु भएको छ। मुगुस्थित हनुमानध्वज गुल्म हुटुबाट रारादेखि भुलभुलेसम्म सैनिकहरू पुर्‍याएर फर्कने क्रममा जिप दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए।

बैतडीको पाटन नगरपालिका–४ बगाडी स्थायी घर भएका ऐडीलाई उपचारका लागि जिल्ला अस्पताल मुगु पुर्‍याएलगत्तै सोमबार १:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। न१झ १०३९ नम्बरको बोलेरो जिप छायानाथ रारा नगरपालिका–७ स्थित पिना प्रहरी चौकी नजिकै आल्लाधुना खोलाको मोडमा दुर्घटनामा परेको हो।

आइतबार बेलुकी ७ बजे जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। घटनालगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घटनास्थल पुगेर घाइते ऐडीको उद्धार गरेको थियो। उद्धारपछि उनलाई राति १० बजे अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।