भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्रहरीका अनुसार भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६, जुरीखेतमा आइतबार साँझ सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका नौ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। मृतकहरूको सनाखत हुन बाँकी छ।

प्रवक्ता बोगटीका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो। घाइतेमध्ये तीन जनाको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।