वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

विभागले फागुन १६ गतेसम्मको आकलन सार्वजनिक गर्दै उक्त अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने जनाएको छ। पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागको भनाइ छ। 

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत महिना पनि सरदरभन्दा कम वर्षा भएको थियो। आउँदा दिनमा पनि कम वर्षाको आकलन गरिएको उनले बताए। 

आगामी दुई महिना अवधिमा सुदूरपश्चिम, कर्णालीका उत्तरी भूभाग र गण्डकीका उत्तर–पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ। 

कायस्थका अनुसार सुदूरपश्चिमका मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकीका दक्षिणी भूभाग, बागमतीका अधिकांश भाग, मधेशका मध्य भूभाग र कोशीका पश्चिमी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।

सुदूरपश्चिमका दक्षिण–पश्चिमी भूभाग, कर्णालीका मध्य भूभाग, लुम्बिनीका उत्तरी भूभाग, गण्डकीका मध्य भूभाग, बागमतीका मध्य भूभाग, मधेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशीका मध्य तथा दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।

देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ। विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको जलवायु प्रारूपका आधारमा मौसम आकलन गरिएको जनाएको छ।

साथै, नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एलनिनो तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइको हालको अवस्थालाई समेत मध्यनजर गरी तयार गरिएको विभागका सूचना अधिकारी कायस्थले बताए।  

हाल प्रशान्त महासागरमा लानिनाको अवस्थामा रहेको र हिउँद ऋतुको अन्त्यसम्ममा तटस्थतर्फ जाने विश्वव्यापी प्रारुपहरूको आकलन छ। त्यसैगरी, हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइक हाल तटस्थ अवस्थामा रहेको र हिउँद अवधिभर तटस्थ अवस्थामै रहने जनाइएको छ।

ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भूउपयोगजस्ता विषयमा निर्भर हुने र जलवायु प्रारूपलाई यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने विभागका सूचना अधिकारी कायस्थले उल्लेख गरे।