न्युयोर्क पुर्‍याइए भेनेजुएलाका राष्ट्रपति मादुरो

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकासलगायत शहरमा आक्रमण गरेको थियो। लगत्तै मादुरो दम्पतीलाई पक्राउ गरेको थियो।

न्युयोर्क पुर्‍याइए भेनेजुएलाका राष्ट्रपति मादुरो
एएफपी

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्युयोर्क ल्याएको छ। भेनेजुएलामा आक्रमणपछि राष्ट्रपति दम्पतीलाई पक्राउ गरेर न्युयोर्क ल्याइएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन्।

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकासलगायत शहरमा आक्रमण गरेको थियो। लगत्तै मादुरो दम्पतीलाई पक्राउ गरेको थियो।

दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको अमेरिकाले जनाएको छ। त्यसअघि न्यूयोर्कको स्टीवर्ट एयर नेसनल गार्ड बेसमा अवतरण गराइएको थियो। त्यहाँबाट हेलिकप्टरमा म्यानहट्टनको डीईए (ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन) कार्यालय लगिएको थियो।  

राष्ट्रपति ट्रम्पले नयाँ सरकार गठन नभएसम्म भेनेजुएलालाई अमेरिकाले चलाउने बताएका छन्। उता, राज्य टेलिभिजनमा सम्बोधन गर्दै भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरो देशको एक मात्र राष्ट्रपति भएको बताएकी छन्।

मादुरोलाई अमेरिकाले लागूपदार्थ र हतियार कारोबारलाई प्रश्रय दिएको आरोप लगाएको छ। उनले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन्। भेनेजुएलाले सैन्य आक्रमणको निन्दा गर्दै राष्ट्रिय आपत्काल घोषणा गरेको छ।