देशभर तापक्रम घट्दै, माइनसमा जुम्ला र मुस्ताङ

काठमाडौँ उपत्यकामा शनिबार न्यूनतम तापक्रम ४.५ डिग्रीमा झरेको थियो। यो तापक्रम वर्षकै कम हो।

काठमाडौँ– पुस महिना लागेपछि देशभर तापक्रम घट्दो क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ। यस्तै काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ। 

काठमाडौँ उपत्यकामा शनिबार न्यूनतम तापक्रम ४.५ डिग्रीमा झरेको थियो। यो तापक्रम वर्षकै कम हो। पुस ८ गते काठमाडौँको तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो। पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो। 

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार शनिबार राति सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री र मुस्ताङको जोमसोममा माइनस ४.५ डिग्री तापक्रम रहेको थियो। त्यस क्षेत्रमा खोलासमेत जमिरहेका छन्। 

अन्य जिलामा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको विभागले जनाएको छ। सूचना अधिकारी कायस्थका अनुसार न्यूनतम तापक्रम डडेलधुरामा २.७, दिपायलमा ६, वीरेन्द्रनगरमा ५, घोराहीमा ८, पोखरामा ८.५, सिमरामा ८.३, ओखलढुंगामा ४.९, जिरीमा ०.२, ताप्लेजुङमा ५.८, लुम्लेमा ४.५ र धनकुटामा ७ डिग्री रहेको छ। 

कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने बताए। उनका अनुसार हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भइरहेको छ। 

यस्तै, पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।