विशेष महाधिवेशनबारे गगन र विश्वप्रकाशको कानूनविद्हरूसँग परामर्श

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन बोलाउने वैधानिक प्रक्रियाका बारेमा कानून व्यवसायीहरूसँग परामर्श गरेका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनबारे कानून व्यवसायीसँग परामर्श तथा छलफल गरेका छन्। उनीहरूले शनिबार वरिष्ठ अधिवक्ताहरूसँग पार्टी केन्द्रीय कार्यालयमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्तावका बारेमा छलफल गरेका हुन्।

छलफलमा वरिष्ठ अधिवक्ताहरूले नेपालको संविधान, दलसम्बन्धी ऐन र कांग्रेसको विधानमा भएको व्यवस्थाका बारेमा जानकारी गराएको छलफलमा सहभागी वरिष्ठ अधिवक्ता यदुनाथ खनालले जानकारी दिए। कांग्रेस विधानको धारा १७ (२) मा प्रस्टसँग केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाइ केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन गरेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउन बाध्य र अनिवार्य हुने सुझाएका थिए।

विशेष महाधिवेशनको प्रस्तावका सम्बन्धमा केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय दुवैले विशेष महाधिवेशन बोलाउन पाउने विधानको व्यवस्थाबारे उपस्थित वरिष्ठ अधिवक्ताहरूले आफ्नो धारणा तथा सुझाव दिएको वरिष्ठ अधिवक्ता खनालले जानकारी दिए। छलफलमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष, पूर्वअध्यक्षलगायत कांग्रेसनिकट मानिने वरिष्ठ कानूनविद्हरू उपस्थित थिए।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले विशेष महाधिवेशनको प्रस्ताव स्वतः निष्क्रिय भएको ठहरसाथ तालिका संशोधन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा पार्टीको १५औँ महाधिवेशनको गर्ने निर्णय गरेको थियो। यसअघि पार्टीको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिएको थियो।

उक्त निर्णयका सम्बन्धमा महामन्त्रीद्वय थापा र शर्मालगायत पाँच जना नेताले फरक मत दर्ज गरेका थिए। महामन्त्री थापाले गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव विधानतः लागू गर्न पुसभित्र १५औँ महाधिवेशन गरिसक्नुपर्ने बताएका थिए।