राष्ट्रपति मादुरोको अवस्थाबारे भेनेजुएलाले अमेरिकासँग माग्यो जानकारी

भेनेजुएला सरकारले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे हालसम्म कुनै आधिकारिक जानकारी नभएको भन्दै उनीहरू जीवितै रहेको तत्काल प्रमाण उपलब्ध गराउन अमेरिकासँग माग गरेको छ।

भेनेजुएला सरकारले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएको छ। उपराष्ट्रपति डेल्सी रोड्रिगेजले एक विज्ञप्ति जारी गर्दै अमेरिकी पक्षसँग राष्ट्रपति दम्पतीको सुरक्षा र उनीहरू जीवित रहेको तत्काल प्रमाण उपलब्ध गराउन माग गरेकी छन्।

शनिबार बिहान भएको अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर प्याड्रिनो लोपेजले देशभर 'सैन्य बल' तैनाथ गर्ने घोषणा गरेका छन्। उनले भने, “हामीमाथि भीषण आक्रमण भएको छ, तर हामी झुक्ने छैनौँ।”

रक्षामन्त्री लोपेजले सर्वसाधारण बसोबास गर्ने आवासीय क्षेत्रमा समेत आक्रमण भएको दाबी गर्दै विदेशी हस्तक्षेपको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति मादुरोको पूर्वआदेश बमोजिम सबै सशस्त्र सेना परिचालन गरिएको र नागरिकहरूलाई एकजुट हुन आह्वान गरेका छन्। आक्रमणपछि राष्ट्रपति कार्यालयले आधिकारिक रूपमा 'राष्ट्रिय आपत्काल' घोषणा गरेको छ।

प्रत्यक्षदर्शी र सार्वजनिक भिडियोहरूका अनुसार राजधानी काराकासको मुटुमा रहेका दुई मुख्य सैन्य अखडा 'ला कार्लोटा' र 'फुएर्ते तिउना' मा शक्तिशाली विस्फोट भएका छन्। शनिबार बिहानैदेखि काराकासका विभिन्न सैन्य र नागरिक क्षेत्रहरूमा विस्फोटका आवाज सुनिएका थिए। भेनेजुएलाको दाबीअनुसार यो आक्रमणको मुख्य उद्देश्य त्यहाँको प्राकृतिक स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोमाथि लागूऔषध ओसारपसार र अमेरिकामा अपराध फैलाएको अभियोग लगाएपछि दुई देशबीचको तनाव चरम बिन्दुमा पुगेको हो। हप्तौँको दबाब र चेतावनीपछि अमेरिकाले यो सैन्य कारबाही शुरू गरेको देखिएको छ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले न्युयोर्कमा दर्ता भएको अभियोगका आधारमा मादुरो र उनकी पत्नीले गम्भीर आपराधिक आरोपको सामना गर्नुपर्ने बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत भनिन्, “यी दम्पतीले चाँडै नै अमेरिकी भूमिमा अमेरिकी न्यायको कठोरतम प्रहारको सामना गर्नेछन्।”

सन् २०२० मा न्युयोर्कको अदालतमा मादुरोमाथि ‘लागूऔषध-आतंकवाद’को मुद्दा दर्ता भए पनि उनकी पत्नी सेलियामाथिको अभियोगबारे यसअघि आधिकारिक जानकारी बाहिर आएको थिएन। महान्यायाधिवक्ता बोन्डीको पछिल्लो भनाइले उनी पनि अब अमेरिकी कानूनी दायरामा परेको पुष्टि गरेको छ।