रुसी सेनामा भर्ती भएका बैतडीका युवकको मृत्यु

रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ।

बैतडी– रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ।

करिब दुई वर्षअघि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन थिए। डीएनए परीक्षणबाट उनको मृत्यु भएको जानकारी प्राप्त भएको मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए।

भाटको मृत्यु कहिले भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै उनको मृत्युको खबर परिवारलाई दिइएको उनले जानकारी दिए। मृतक भाटका परिवारमा आमा–बुबा, भाइ र श्रीमती छन्।

भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो। सोही समयदेखि भाटको खोजी भइरहेको वडा कार्यालयले जनाएको छ।