जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन सरकारको अपिल

जाडोयाममा आगो, हिटर तथा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु तथा अस्पताल भर्ना हुने घटना हुने गरेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौँ– जाडोयाम शुरू भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जाडोयाममा रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीतांग (हाइपोथर्मिया) का लक्षण देखिने बिरामीको संख्या बढ्दै गएको उल्लेख गरेको छ। पछिल्ला वर्ष जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अंगमा गम्भीर असर पुर्‍याउने र दम तथा क्यान्सर जस्ता दीर्घ रोगको जोखिम बढाउने गरेको मन्त्रालयको भनाइ छ।

विशेषगरी बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घ रोगीहरू जाडोयाममा बढी जोखिममा रहने गरेका छन्। चिसोबाट बच्न, धुवाँ–धुलोबाट जोगिन, पोषक तत्वयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन तथा भिटामिन ‘सी’ युक्त फलफूल र सागपात पर्याप्त मात्रामा सेवन गर्न मन्त्रालयले आग्रह गरेको छ । 

सरसफाइमा ध्यान दिन, प्रशस्त मात्रामा झोल पदार्थ सेवन गर्न र अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन पनि मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले चिसोका कारण देखिने समस्या बढेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ। त्यसैगरी जाडोयाममा आगो, हिटर तथा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु तथा अस्पताल भर्ना हुने घटना हुने गरेको उल्लेख गर्दै मन्त्रालयले विशेष सतर्कता अपनाउन भनेको छ।

हावा पास नहुने कोठामा यस्ता उपकरण प्रयोग गर्दा कार्बन मोनोअक्साइड ग्यास जम्मा भई ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले आगो तथा तताउने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुमबाहिर जडान गर्न आग्रह गरिएको छ।

यस्ता उपकरण प्रयोग गर्दा टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता लक्षण देखिएमा तुरुन्त हावा आवतजावत हुने खुला स्थानमा जान र समस्या निरन्तर रहेमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।