महाधिवेशन वैशाख अन्तिम साता गर्ने कांग्रेसको निर्णय, महामन्त्री थापाको असहमति

नेपाली कांग्रेसले आगामी वैशाख अन्तिम साता १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ भने महामन्त्री गगन थापाले त्यसमा असहमति प्रकट गरेका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी वैशाख अन्तिम साता गर्ने निर्णय गरेको छ। पार्टी मुख्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। खड्काले शुक्रबारको बैठकमा महाधिवेशनसम्बन्धी प्रस्ताव पेश गरेका थिए।

बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले उक्त निर्णयप्रति आफ्नो असहमति रहेको स्पष्ट पारे। बहुमतबाट प्रस्ताव पारित भए पनि आफू लगायत चार-पाँच जनाको फरक मत रहेको उनले जानकारी दिए। उनले उक्त प्रस्ताव पारित हुँदा विधानको धारा लागू हुने तर विशेष महाधिवेशन बोलाउन भनेर विधानकै धारा प्रयोग गरेर महाधिवेशन माग्दा विधान लागू नहुनु उपयुक्त नभएको बताए।

उनले केन्द्रीय समितिको म्याद थप गर्ने विषयमा सहमति भए पनि विशेष महाधिवेशनको प्रस्ताव आउनुपर्ने अडान राखेका थिए। उनले विधानको प्रावधानअनुसार एक-दुई दिनभित्रै केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने मागसमेत गरे। केन्द्रीय कार्यसमितिको बैठकबाट विशेष महाधिवेशनको निर्णय नभए महामन्त्रीको अधिकार प्रयोग गरी विधानबमोजिम विशेष महाधिवेशन प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

विशेष महाधिवेशनको अडानबाट पछि नहट्ने स्पष्ट पार्दै उनले देशभरका महाधिवेशन प्रतिनिधिलाई यसमा सहभागी हुन आह्वानसमेत गरे। जस्तोसुकै आन्तरिक मतभेद भए पनि पार्टी विभाजन नहुनेमा उनले आश्वस्त पारे। विधानको धारा १७ को उपधारा २ बमोजिम विशेष महाधिवेशनको माग गर्दा पार्टी विभाजनको हल्ला फैलाउनु गलत रहेको उनको बुझाइ छ।