चर्चित अनुहारहरू किन राजनीतिमा मोहित छन्?

खेल, उद्योग, व्यवसाय, कला र पत्रकारितामा पहिचान बनाएका चर्चित अनुहारहरू यसपटक संसद् प्रवेशको दौडमा छन्। राज्यको समावेशी नीतिका कारण सबै तप्काका नागरिकमा राजनीतिक आकांक्षा बढेको विश्लेषकहरूको बुझाइ छ।

काठमाडौँ– किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशकका रूपमा बेग्लै पहिचान छ, विदुषी राणाको। यस कम्पनीले गोल्डस्टार जुत्ता/चप्पल उत्पादन गर्दै आएको छ। गोल्डस्टारलाई सस्तो र भरपर्दो जुत्ताको रूपमा लिइन्छ। गोल्डस्टार नेपालमा चर्चित ब्रान्ड हो। यतिबेला भने उनी रास्वपाको समानुपातिक सूचीमा छिन्। अर्थात् अब उनी राजनीतिज्ञका रूपमा चिनिने संक्रमणकालीन समयमा छिन्।

राणालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिमा आउन हौस्याएका हुन्। बाहिर बसेर ‘बिग्रियो’ भनेर मात्र नहुने, बरु राजनीतिमै आउन उनलाई बालेनले आग्रह गरे। बालेनले उनलाई भनेका थिए, “तपाई बाहिर बसेर बोलिरहनु भएको छ, भित्र आएर बोल्नुभयो भने तपाईंको उद्योगजस्तै समग्र नेपालको म्यानुफ्याक्चर नै राम्रो हुन्छ। त्यसैले राजनीतिमा लाग्नुस्। संसद्मा आउनूस्।”

राणालाई बालेनको प्रस्ताव ठिकै लाग्यो। त्यसपछि उनी रास्वपाको समानुपातिक सूचीमा परिन्।

मुलुकमा परिवर्तन ल्याउन सकिन्छ कि भन्ने आशा लिएर आफू राजनीतिमा होमिएको राणा बताउँछिन्। उनी भन्छिन्, “देश विकास भएन, युवा विदेश पलाएन भए, अर्थतन्त्र बर्बाद भयो, नेताहरूले बर्बाद गरे भनिरह्यौँ। तर, हस्तक्षेप गर्न सकेनौँ। बाहिरबाट दर्शक भएर हेरे जस्तो मात्र भयो। त्यसकारण, मैले राजनीतिमा आउने आँट गरेँ। अब सांसद बन्ने–नबन्ने पछाडिको कुरा हो।”

राजनीति गरेर मुलुकमा परिवर्तन ल्याउन सकिन्छ भन्ने लागेको दिनसम्म मात्र आफू त्यहाँ बस्ने, अन्यथा छाड्ने राणाको भनाइ छ। “परिवर्तन ल्याउन सकिँदैन वा एकदम गाह्रो रहेछ भने मैले राजनीति गर्न हुँदैन। आँट गरेर राजनीतिमा आएको हुँ। बाहिर बसेर ‘भएन’ मात्र कति भन्ने? राजनीतिमै लागेर केही गरौँ न जस्तो लाग्यो।”

राणाजस्तै खेल, उद्योग, व्यवसाय, कला र पत्रकारितामा पहिचान बनाएका थुप्रै चर्चित अनुहारहरू यसपटक संसद् प्रवेशको दौडमा छन्। राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा अनुभवी राजनीतिज्ञ मात्र छैनन्, विभिन्न पेशा–व्यवसायमा लागेर समाजमा प्रभाव छोडेका व्यक्तिहरूको उपस्थिति पनि उल्लेख्य छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेका ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटको परिचित नाम हो। उनले झन्डै दुई वर्ष राष्ट्रिय टोलीको कप्तानी गरे भने एक दशक उपकप्तानको भूमिका निभाए। उनको परिचय खेलाडी हुनुमा मात्र सीमित छैन। उनी नेपालका कतिपय खेलमा सहायक प्रशिक्षक पनि बने। एनपीएलमा कर्णाली टिमका प्रमुख प्रशिक्षक रहे। 

रास्वपाले आयोगमा बुझाएको समानुपातिक सूचीमा सीएनएनकी पूर्वपत्रकार सुम्नीमा उदास, कलाकारहरू रिमा विश्वकर्मा र प्रकाश सपुतको पनि नाम छ।

नेपालको प्रसिद्ध सिनेकर्मीका रूपमा परिचय बनाएका मीन भामले पनि सार्वजनिक रूपमै राजनीतिमा लाग्ने बताइसकेका छन्। भामले बनाएका सबैजसो फिल्म चर्चित छन्। ‘कालो पोथी‘, ‘बाँसुल्ली’, ‘साम्बाला’ले देशभित्र मात्र होइन, विदेशमा पनि चर्चा पायो। उनको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा पुग्यो। यो फिल्म ओस्कारमा नेपालको अफिसियल सेलेक्सनमा पनि परेको थियो।

भाम २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार थिए। यसपटक टिकट पाए भने काठमाडौँ–३ बाटै आगामी निर्वाचनमा उम्मेदवार हुने योजना बनाइरहेका छन्। मुगु पनि उनको रोजाइको क्षेत्र हो। यी दुईमध्ये जहाँबाट टिकट मिल्छ, उनी त्यहीँ जाने विचारमा छन्। “०८४ को चुनाव लड्छु भन्ने थियो, २०८२ मै आइपुग्दा अलिक छिटो भयो,” उनले भने।

आफ्नो व्यक्तिगत संलग्नता, चासो, अध्ययन र अध्यापनसमेत राजनीति नै रहेको बताउँछन्, भाम। राजनीतिबाट आफू कहिले पनि नटाढिएको उनको भनाइ छ। “म राजनीतिमा सधैँ नै संलग्न थिएँ, सिनेमा कारण यो बीचमा त्यतातिर समय दिन पाइनँ। मेरो इच्छा दुईतिर डाइभर्ट भयो। अहिले एक/डेढ वर्षदेखि मैले चुनाव लड्छु भनिरहेकै छु,” उनले उकालोसँग भने।

गतिशील लोकतान्त्रिक पार्टी नै खोलेर बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत पनि राजनीतिमा लागेका छन्। उनी नेपालका सफल व्यवसायी मानिन्छन्। कृषि व्यवसायमा पनि उनी सक्रिय छन्। एयरलाइन्स र कृषि व्यवसायबाट राजनीतिमा आउने दुई वटा कारण रहेको बस्नेत बताउँछन्।

गत कात्तिकमा सेतोपाटीसँगको कुराकानीमा उनले ती कारणहरू खुलाए, “मैले मेरो घरव्यवहार पूरा गरेँ। मेरो व्यवसायहरू अटोमोडमा छन्। मैले फुर्सद पाएको छु। अर्को कुरा, मैले यत्रो समय हासिल गरेको अनुभव (विशेष गरी व्यवस्थापनको कार्यकुशलता)लाई प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर बाध्यात्मक हिसाबले आएका छौँ।”

आफूले हासिल गरेको अनुभवलाई राजनीतिमार्फत वृहत् स्तरमा लैजान सकिने बस्नेतको भनाइ छ। यो क्षेत्रमा आउनका लागि भदौ २३ र २४ को जेन–जी आन्दोलन प्रस्थानविन्दु भएको बताउँछन्। “राष्ट्रको समय, काल, इतिहासमा जब सरकार कमजोर हुन्छन् या जनमानसमा विद्रोह आउँछ, त्यसपछि सत्ता परिवर्तन हुन्छ। त्यसले प्रस्थानविन्दु सिर्जना गर्छ,” उनले भने। 

प्राज्ञिक क्षेत्रमै नाम कमाएका दिनेश प्रसाईं गतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष नै हुन्। यही पार्टीमै लागेकी छिन्, नेपालकी चर्चित नायिका निशा अधिकारी पनि। अधिकारीको अध्ययन क्षेत्र पनि पोलिटिकल साइन्स हो। उनी अहिले द्वन्द्व, शान्ति र विकासमा एमफिल गरिरहेकी छिन्। आफूलाई पहिलादेखि नै सामाजिक र राजनीतिक विषयमा लगाव भएको र धेरै क्याम्पियनमा पनि लागेको उनको भनाइ छ। यसैले उनलाई राजनीतिसम्म तान्यो।

“राजनीतिमा प्रत्यक्ष रूपमा नलागे पनि कुनै न कुनै रूपमा बलियो नागरिक समाज निर्माणमा लाग्छु भन्ने थियो। यो देशको अवस्था हेर्दा मलाई सधैँभरि ‘भएन, पुगेन’ जस्तो लागिरह्यो। र, म आफैँ राजनीतिमा आएँ,” उनी भन्छिन्।

राजनीतिप्रति अभिरुचि हुनेहरू सबै जना यस क्षेत्रमा आउनुपर्ने अधिकारी बताउँछिन्। “हामीले फेर्ने सासदेखि खाने खानासम्ममा राजनीतिक प्रभाव छ। सबै राजनीतिक प्राणी बनिसक्यौँ। हामीसँग विभिन्न राजनीतिक भोगाइ छ, त्यो सकारात्मक र नकारात्मक दुवै रूपमा होला,” उनी भन्छिन्, “जेन–जी आन्दोलनपछि औपचारिक रूपमै अब राजनीतिमा आउँछु भन्ने लाग्यो, ता कि भोलि मानिसले मभित्र समस्याको समाधान देख्न सकोस्, म त्यस्तो नेतृत्व बन्न चाहन्छु।”

विभिन्न क्षेत्रमा लागेर चर्चा कमाएकाहरू राजनीतिमा आउने ‘ट्रेन्ड’ नै बनेको छ। राज्यले ‘इन्क्लुसिभ’ नीति लिएपछि सबै तप्काबाट राजनीतिमा प्रवेश भएको बताउँछन्, राजनीतिक विश्लेषक उद्धव प्याकुरेल। उनी भन्छन्, “पोलिटिकल साइन्स जानेकाहरू मात्र राजनीतिमा आउने होइन, हरेक तप्काबाट आउन सक्छन् भन्ने स्थापित भयो। राज्यले यो नीति अपनायो। त्यसपछि उहाँहरूमा इच्छा हुनु स्वाभाविक हो।”

रास्वपाका सभापति रवि लामिछाने पनि पत्रकारिता हुँदै राजनीतिमा लागेका हुन्। पत्रकारितामै सेलब्रेटी बनेका उनले २०७९ जेठमा टेलिभिजन पत्रकारिता छाडेर राजनीतिमा लागेका थिए।

कलाकार, पत्रकार, खेलाडी, उद्यमी, व्यवसायीहरू धमाधम राजनीतिमा आइरहेका छन्। यसपछाडिको कारणबारे लामिछानेले गत मंगलबार ‘झरीपछिको इन्द्रेणी’ सिनेमा हेरेपश्चात् पत्रकारसँग भनेका थिए, “जब राजनीति गर्छु भनेर वर्षौं बिताएकाहरूले गरेको राजनीतिले देशमा निराशा फैलाउँछ, त्यसले निकास दिन सक्दैन, त्यतिखेर कलाकार, पत्रकार, खेलाडी सबै जना राजनीतिमा आउँछन्। अहिले नेपाल त्यही ‘फेज’मा आएको छ।”

विभिन्न क्षेत्रमा नाम कहलिएकाहरू राजनीतिमा आउने चलन विगतदेखि नै चल्दै आएको हो। कलाकार रेखा थापाले पनि राजनीति रोजिन्। अर्थशास्त्री स्वर्णिम वाग्लेलाई पनि राजनीतिले तान्यो। शिक्षा क्षेत्रमा काम गरिरहेका तथा टिच फर नेपाल संस्थाका सहसंस्थापक रहेका शिशिर खनाल २०७९ को निर्वाचन लडेर सांसद नै बने। खरो स्वभावका मानिएका पूर्वडीआईजी रमेश खरेललाई पनि राजनीतिप्रति मोहित भए, २४ मंसिर २०७८ मा उनले नेपाल सुशासन पार्टी नै घोषणा गरेका थिए।

यस्तो ट्रेन्ड विश्वभरि नै रहेको बताउँछन्, राजनीतिक विश्लेषक कृष्ण पोखरेल। नेपाली राजनीतिमा पनि त्यस्ता पात्रहरू आउनुलाई उनी सामान्य ठान्छन्। उनी भन्छन्, “अमेरिकाका अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि चर्चित व्यवसायी हुन्। अमेरिकाकै ४० औँ राष्ट्रपति रोनाल्ड रेगन फिल्म क्षेत्रबाटै आएका हुन्। हाम्रो राजनीतिमा पनि आइरहन्छन्।”

कतिपय मानिसचाहिँ नाम कमाउन पनि राजनीतिमा आउने गरेको पोखरेलको टिप्पणी छ। “पैसा टन्न छ, तर त्यसले मात्र पुगेन,” उनले भने, “राजनीति सबै नीतिको मूल भएकाले पनि यसमा आउने मानिसको चाहना हुन्छ। यहाँबाट नीति निर्माण गर्न पाइन्छ। नीतिमा इन्टरभेन्सन गर्न सबैभन्दा राम्रो माध्यम राजनीति हो। त्यसकारण पनि यसमा जोडिन चाहनेहरू धेरै हुन्छन्।”