युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको रुसको दाबी

युक्रेनको दक्षिणी खेरसोन क्षेत्रस्थित रुसको नियन्त्रणमा रहेको इलाकामा युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको रुसी अधिकारीहरूले दाबी गरेका छन्।

युक्रेनको दक्षिणी खेरसोन क्षेत्रस्थित रुसको नियन्त्रणमा रहेको इलाकामा युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको रुसी अधिकारीहरूले दाबी गरेका छन्। मस्कोद्वारा नियुक्त गभर्नर र अन्य सुरक्षा अधिकारीहरूका अनुसार बिहीबार भएको उक्त आक्रमणमा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

खेरसोनका गभर्नर भ्लादिमिर साल्डोले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणको पुष्टि गर्दै भने, “ब्ल्याक सीको तटीय ग्रामीण इलाकामा रहेको एउटा क्याफे र होटलमा तीन वटा मानवरहित विमानले आक्रमण गरिएको थियो।” उनका अनुसार मृतक र घाइतेको संख्या प्रारम्भिक विवरणका आधारमा सार्वजनिक गरिएको हो।

रुसी अनुसन्धान समितिले उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै आपराधिक अनुसन्धान शुरू गरेको जनाएको छ। गभर्नर साल्डोले पोस्ट गरेका तस्वीरमा आगलागीबाट क्षतिग्रस्त भवन, भग्नावशेषको थुप्रो र जलेका शव देखिएका छन्।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले जानाजानी सर्वसाधारणमाथि ‘आतंकवादी हमला’ गरेको आरोप लगाएकी छन्। यद्यपि, युक्रेनी अधिकारीहरूले यस दाबीका विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन्।

खोरली गाउँ ब्लाक सीको तटमा अवस्थित छ। यो क्षेत्र फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि शुरू गरेको सैन्य आक्रमणको प्रारम्भिक चरणमै रुसी नियन्त्रणमा परेको थियो। सन् २०२२ को उत्तरार्द्धमा युक्रेनी सेनाले प्रत्याक्रमण गरी खेरसोनको ठूलो भाग पुनः कब्जा गरे तापनि यो तटीय ग्रामीण इलाका भने अझै रुसी सेनाकै नियन्त्रणमा रहेको छ।