पूर्वगृहमन्त्री लेखकको भ्रमणमा लगाइएको प्रतिबन्ध फुकुवा

गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण र अनुमतिबिना काठमाडौँ उपत्यका बाहिर जान लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

काठमाडौँ– गत भदौ २३ र २४ गतेको 'जेनजी आन्दोलन'सँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको विदेश भ्रमणमा लगाइएको रोक फुकुवा गरेको छ।

आयोगको बिहीबार बसेको बैठकले पूर्वगृहमन्त्री लेखकलाई विदेश भ्रमणमा जान र स्वीकृतिबिना काठमाडौँ उपत्यका छाड्न लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। आयोगका शाखा अधिकृत रेशम बुढा क्षेत्रीका अनुसार सो निर्णयका बारेमा बिहीबार नै गृह मन्त्रालयलाई पत्राचार गरी जानकारी गराइएको छ।

आयोगले उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र स्वयं लेखकलाई समेत दिएको छ।

घटनाका सम्बन्धमा तत्कालीन गृहमन्त्री लेखकले केही दिनअघि आयोगमा उपस्थित भई बयान दिएका थिए। बयान सकिएसँगै आयोगले उनीमाथि लगाएको बन्देज हटाउने निर्णय गरेको हो।

यसअघि, घटनाको छानबिनका लागि अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले गत असोज १२ गते लेखकको विदेश भ्रमण रोक्का गर्ने र अनुमतिबिना उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो।