काठमाडौँमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँका दुई फरक–फरक स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

काठमाडौँ– काठमाडौँका दुई फरक–फरक स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। बुढानीलकण्ठ र टेकुमा भएका यी दुर्घटनामा दुवै मोटरसाइकल चालकले ज्यान गुमाएका हुन्।

प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका–७, गल्फुटार चोकमा चक्रपथबाट बुढानीलकण्ठतर्फ जाँदै गरेको बा प्र०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका रामेछाप खाँडादेवी गाउँपालिका–३ का चालक अवि श्रेष्ठको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको जानकारी दिए।

यसैगरी, काठमाडौँ महानगरपालिका–१२, टेकुस्थित सडकमा बागमती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडी र बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा अर्का एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–२ का ३० वर्षीय दीपक बजगाईं रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका बजगाईंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरू गरिसकेको जनाएको छ।