काठमाडौँमा नानीमैयाँले पनि जित्छिन्, किसुनजीले पनि हार्छन्। एउटा निर्वाचनमा हँसिया हथौडाको पल्ला भारी हुँदा अर्को निर्वाचनसम्म पुग्दा मतदाता गाईमा हुर्रिइसकेका हुन्छन्।
३५ वर्षअघिको सन्दर्भबाट प्रसंग शुरू गरौँ, बालेन जन्मेकै मितिबाट। जनआन्दोलनको बलमा पञ्चायत विस्थापित गरी बनेको अन्तरिम सरकारको प्रधानमन्त्री बने कृष्णप्रसाद भट्टराई। किसुनजी प्रधानमन्त्री भएको एक सातामा बालेन जन्मिएका हुन्। बालेनको जन्म र सरकार गठनमा तालमेल थिएन। तर, परिस्थितिले बालेन जन्मने बखतको राजनीतिक सन्दर्भ स्मरणीय बनेको छ।
जनआन्दोलनका एक कमान्डर, अन्तरिम सरकारका सफल प्रधानमन्त्री, ०४८ सालको संविधानका निर्णायक अगुवा, संक्रमणकालका सफल व्यवस्थापकका रूपमा किसुनजीको व्यक्तित्व चुनावी दौडमा सबैभन्दा उँचो थियो। कांग्रेस सभापति तथा भावी प्रधानमन्त्रीको भारका कारण उनी थप हेभिवेट उम्मेदवार थिए-०४८ सालको आम निर्वाचनमा। सादगी र सन्त नेताका रूपमा किसुनजी बेदागी थिए। तर दुनियाँलाई आश्चर्यचकित तुल्याउँदै उनी काठमाडौँमा पराजित भए।
झापाको चर्चा चलाइए पनि बालेन सम्भवतः काठमाडौँबाट उम्मेदवार हुनेछन्। बालेनको राप र ताप भएका बेला उनी पराजित हुने कल्पना सायदै गर्न सकिन्छ। तर राजनीतिमा '6' ६ नभई '9' देखिन पनि सक्छ। यसर्थ, फरक कोणबाट पनि विषयलाई हेर्नुपर्ने हुन्छ। सामाजिक सञ्जाललाई आधार मान्ने हो भने बालेन प्रधानमन्त्री बन्न ३ महिना पनि बाँकी छैन। तर, सञ्जाल एउटा पाटो मात्र हो, मतपत्र चाहिँ होइन। बालेन मेयरको उम्मेदवार हुँदा उनले प्रश्न गरे पुग्थ्यो। नयाँ पनि मै, पढेको पनि मै, युवा पनि मै भन्दा विपक्षी नाजवाफ हुने स्थिति थियो। कांग्रेस-एमालेको रजगजबाट असन्तुष्ट काठमाडौँवासीले बालेनलाई आक्रोश पोख्ने साइट बनाए। तर, संसदीय निर्वाचनमा बालेन उत्तर दिनुपर्ने पोजिसनमा छन्।
सरसफाइ र छात्रवृत्ति व्यवस्थापनमा पालिकाले प्रभावकारी कदम चाले पनि विकास निर्माणमा खास केही गर्न सकेको छैन। बालेनले चरणबद्ध रूपमा गरिने कामको प्रतिज्ञा गरेका थिए। ३ वर्षमा पूरा गर्ने भनी गरेका धेरै काम सुरुसमेत भएका छैनन्। उनी कार्यकाल नसकिँदै आम निर्वाचनमा होमिँदै छन्। महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक र बेरुजु कहालीलाग्दो छ। 'गरिबको चमेली बोल्दिने कोही छैन' गीतमा रिमिक्स बनाएर राजनीति तताएका बालेन टिपिकल्ली एलिट र स्टार्डमवाला पोलिटिसियन दर्ज भएका छन्।
नवयुवाहरूको आन्दोलनको उठान र बैठानमा बालेनको भूमिका प्रश्नरहित छैन। आन्दोलनको सही बैठान हुन सकेको भए विस्थापित प्रधानमन्त्रीले यति छिट्टै बालुवाटारमा बहालवाला प्रधानमन्त्रीलाई प्रवचन दिने मेलोमेसो बन्ने थिएन। बालेनको निम्छरो व्यवस्थापकीय लगावका कारण उनीमाथि निर्भर आन्दोलनकारी निरीह प्राय: हुन पुगेका छन्। बालेन आफैँ प्रधानमन्त्रीको सर्तनामाका नाममा रास्वपाको शरण परेका छन्। यी सबै सन्दर्भको निर्मम समीक्षा चुनावी दौडमा होला नै। किसुनजी चुनाव हार्नुमा अन्तर्घात एउटा पाटो थियो। मजबुत विरासत र संगठनका बाबजुद पनि सभापति नै अन्तर्घातको सिकार भए। रास्वपाको संगठित भोट होइन। घण्टीको भोट मूलतः रविको अनुहार र पुरानाप्रतिको वितृष्णा हो। बालेन मिसिएपछि बालेन-ब्रान्डको मत पनि मिसिएर पार्टी ठुलो हुने अपेक्षा हो। बालेन र रविको मिलन अन्तर्घुलनका रूपमा मतदाताले बुझ्छन् वा बुझ्दैनन्, प्रमुख सवाल त्यो हो।
स्मरणीय के छ भने श्रीमती चढेको गाडी ट्राफिकले रोकेपछि बालेनले सिंहदरबार जलाउँछु भनेका थिए। तर, पटक पटक प्रहरीले रविमाथि धरपकड गर्दा पनि बालेनले उनको पक्षमा बोली फुटाएका थिएनन्। बालेनबाट पक्षधरताको अपेक्षा गरेका रवि समर्थकले बालेनका नाममा बनाइएका नक्कली स्ट्याटस सेयर गरेर चित्त बुझाउन परेको थियो। बालेनलाई मेयर जिताउन रविले टेलिभिजन प्रस्तोताका रूपमा पर्दाको प्रयोग मज्जैले गरेका थिए। बालेनबाट सोही प्यार रविले पाए वा पाएनन्, उनैले जान्ने कुरा भो। हामीले बालेनले लेखेको मात्र देखेको हो- नयाँ पुराना सब चोर हुन्!
बालेन र रविको रसायन मिल्न पनि सक्छ। त्यसो भन्दैमा बालेनका लागि संसदीय निर्वाचन सहज हुने होइन। बालेनले मेयर हुँदा जुन लोकप्रिय मत ल्याएका थिए, उपमेयरमा एमालेकी सुनिता डंगोलले उस्तै बाजी मारेकी थिइन्। प्रमुख दलले ग्ल्यामरस कोहीलाई उम्मेदवार बनाएमा वा समाजमा भिजेको कोही रैथाने स्वतन्त्र नै उठेमा पनि बालेनको संसदीय यात्रामा ब्रेक लाग्न सक्छ। बालेनलाई संसद् प्रवेश गराउन जति माहोल बन्नेछ, उत्ति नै तीव्र माहोल रोक्नलाई बन्नेछ।
उनीमाथि अनेक बात लागिसकेका छन्। नवयुवालाई उचालेर संसद् भवनसम्म पुर्याएको, नेतृत्वविहीन युवाले ज्यान गुमाउन परेको तथा सिंहदरबारलगायत संरचनामा आगजनी गराउन उत्प्रेरकको भूमिका निर्वाह गरेको आरोप छँदैछ। आन्दोलनकारीलाई पानी बाँड्न महानगरको खर्च र शक्ति प्रयोग गरेका बालेनले ऐतिहासिक संरचना जोगाउने बेला दमकल दमपच बनाएको बात पनि लागेकै छ। काठमाडौँमा नानीमैयाँले पनि जित्छिन्, किसुनजीले पनि हार्छन्। एउटा निर्वाचनमा हँसिया हथौडाको पल्ला भारी हुँदा अर्को निर्वाचनसम्म पुग्दा मतदाता गाईमा हुर्रिइसकेका हुन्छन्।
यी सबै छेकबारका बाबजुद पनि बालेन संसद् निर्वाचित हुने प्रबल सम्भावना नकार्न सकिँदैन। मात्र जित १०० प्रतिशत पक्का भन्ने हुँदैन भनिएको हो। संसदीय निर्वाचन जिते पनि बालेन सहज रूपमा प्रधानमन्त्री बन्न रास्वपाको कम्तीमा १३८ सिट आउनुपर्यो र रवि-बालेन सहमति फिटिक्कै तलमाथि हुनुभएन। झट्ट हेर्दा रास्वपा एक्लैको १३८ सिट आउन सम्भव देखिँदैन। मिलीजुली सरकार बनाउन र चलाउन बालेन शैली पर्याप्त देखिँदैन। विपक्षमा १३८ पुगेका दिन बालेन-रविबीचको सहमतिमा रहेको भावी प्रधानमन्त्री बालेन भन्ने बुँदा निष्क्रिय बन्नेछ।
हाम्रा कानूनी प्रक्रिया राजनीतिक घटनाक्रम र राजनीतिक घटनाक्रम अदालती फैसलाबाट प्रभावित हुँदै आएका छन्। मुद्दा मामला यथावत् रहे रवि प्रधानमन्त्री बन्न सक्दैनन्। राजनीतिक मैदानमा परम्परागत शक्तिहरूका लागि रवि बालेनभन्दा अभ्यस्त र तुलनात्मक रूपमा सहज पात्र हुन्। सहयात्रामा जोडिएका बालेन र रवि एकै जङ्गलका दुई भाले बाघ हुन्। यिनको मिलनले जति तरंग पैदा गरेको छ, सम्भावित भिडन्तले उत्ति नै पराकम्प निम्त्याउने छ। यसका लागि बाहिरी दाउपेचले पनि काम गर्नेछ।
सम्भवतः अदालती प्रक्रियालाई तीव्र बनाई रविलाई प्रधानमन्त्रीको आसन नजिक पुगेको आभास दिलाइने छ। अहम् प्रश्न, निर्वाचन पर्यन्त पनि उत्तरित हुन समय लाग्नेछ। बालेन र रवि दुवैले निर्वाचन जिते पनि को पहिला प्रधानमन्त्री बन्लान्? वा दुवै प्रधानमन्त्री नबन्लान्!
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
