बर्दियामा बाघको आक्रमणबाट १ जनाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षीया किशोरीको मृत्यु भएको छ।

बर्दिया– बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षीया विनीता परियारको मृत्यु भएको छ। बिहीबार दिउँसो आमासहित पाँच जनाको समूहमा घाँस काट्न गएकी विनीतालाई उकालो चढ्ने क्रममा बाघले आक्रमण गरी जंगलतर्फ लगेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता देवेन्द्र बहादुर मल्लका अनुसार खोजतलासका क्रममा वनभित्र गम्भीर अवस्थामा फेला परेकी विनीताको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। डिभिजन वन कार्यालयले आक्रमणकारी वन्यजन्तु पाटेबाघ भएको प्रारम्भिक अनुमान गरे पनि पोष्टमार्टम रिपोर्टपछि मात्र यकिन हुने जनाएको छ।

बर्दियामा पछिल्लो समय वन्यजन्तुको आक्रमण बढ्दो छ। पुसमा मात्रै आक्रमणबाट ३ जनाको ज्यान गइसकेको छ भने चालू आर्थिक वर्षमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। हाल निकुञ्जभन्दा पनि मानवबस्ती नजिकका सामुदायिक वन क्षेत्रमा बाघ र चितुवाको जोखिम बढी देखिएको छ।