भदौ २३-२४ को आन्दोलन ‘नियोजित घुसपैठ’का कारण हिंसात्मक बनेको पूर्वगृहमन्त्री लेखकको दाबी

पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ का घटना ‘नियोजित घुसपैठ’का कारण हिंसात्मक बनेको दाबी गर्दै प्रदर्शनमा बल प्रयोग वा गोली प्रहार गर्ने कुनै आदेश आफूले नदिएको उल्लेख गरेका छन्।

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका घटना जेनजी आन्दोलनको भावना विपरीत ‘नियोजित घुसपैठ’का कारण हिंसात्मक बनेको दाबी गरेका छन्। भदौ २३ र २४ को घटनाबारे गठित जाँचबुझ आयोगमा सोमबार उपस्थित भई उनले आफ्नो लिखित बयान र मौखिक जवाफ पेश गरेका हुन्।

आयोगमा बयान दिने क्रममा पूर्वगृहमन्त्री लेखकले आन्दोलनकारीका माग जायज भए पनि प्रदर्शनलाई हिंसात्मक बनाउन घुसपैठ भएको जिकिर गरे। “जेनजीले उठाएका सुशासन र सामाजिक सञ्जाल फुकुवा जस्ता मागहरू जायज थिए,” लेखकले भने, “तर माइतीघरबाट बानेश्वर पुग्दासम्म आन्दोलनमा घुसपैठ भयो।”

पूर्वगृहमन्त्री लेखकले भदौ २३ को प्रदर्शनपछि २४ गते भएका गतिविधि पूर्णतः लोकतन्त्रविरोधी रहेको जिकिर गरे। उनका अनुसार उक्त दिनका घटनाहरू जेनजी समूहको भावना र मागसँग मेल खाँदैनन्।

“मुलुकका संरचना, सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा आगो लगाएर ध्वस्त बनाउने काम भयो,” लेखकले भने, “लोकतन्त्रका आधार स्तम्भहरू सिध्याउने जेनजीको भावना थिएन। यो त अत्यन्तै प्रायोजित र योजनाबद्ध हिसाबले जलाउने काम भए। तत्कालको आवेगले पनि भएको होइन, पूर्वयोजनाअनुसार भएको हो।”

लेखकले भदौ २३ को प्रदर्शनमा बल प्रयोग वा गोली प्रहार गर्ने कुनै पनि आदेश आफूले नदिएको दाबी गरे। “कति र कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने कुरा स्थानीय प्रशासन ऐन र अन्य प्रचलित कानूनले सम्बन्धित अधिकारीहरूलाई सुम्पिएको छ,” लेखकले भने, “मैले गोली प्रहार गर्ने वा बल प्रयोग गर्ने कुनै आदेश दिएको छैन। निर्णय गर्ने अधिकार कानूनले तोकेका निकाय र पदाधिकारीलाई नै हुन्छ।”

प्रधानमन्त्री वा मन्त्रीले बल प्रयोगको आदेश दिने कानूनी व्यवस्था नभएको उल्लेख गर्दै उनले कानूनले जिम्मेवारी दिएका पदाधिकारी र कार्यक्षेत्रमा खटिएका सुरक्षा निकायले नै परिस्थितिको मूल्यांकन गरी आवश्यक निर्णय लिने व्यवस्था रहेको बताए।

घटनाको अघिल्लो दिन (भदौ २२ गते) साँझ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबारे जानकारी दिँदै उनले सुरक्षा निकायहरूलाई कुनै पनि हालतमा ‘क्याजुअल्टी’ (मानवीय क्षति) हुन नदिन निर्देशन दिएको पनि बताए। गृहसचिव, रक्षासचिव र दुवै सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका सीडीओ र एसएसपी सहभागी बैठकमा प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षासाथ आपसी समन्वयमा सुरक्षा व्यवस्था मिलाउन भनिएको उनको दाबी छ।

“त्यो बैठक शुरू हुनुअघि दूरसञ्चार र सूचना मन्त्रालयका पदाधिकारी पनि आएका थिए। उनीहरूसित बुझ्ने काम भयो,” उनले भने, “सूचनाको विश्लेषण गरेर सबै सुरक्षा निकायले समन्वय गरेर शान्ति सुरक्षा गर्ने भनेँ। प्रदर्शन शान्तिपूर्ण हुन्छ भन्ने नै विषयवस्तु आयो। कोही पनि मानिस मर्न पर्ने अवस्था नहोस्, आपसमा सुरक्षा समन्वय राम्रो गर्नुहोला भनेको थिएँ। क्याजोल्टी नहोस् भनेर मैले भनेको हुँ।”

आन्दोलन हिंसात्मक बनेर मानवीय क्षति भएपछि आफूले पदीय नैतिकताका आधारमा राजीनामा दिएको उनले पुनः उल्लेख गरे। लेखकले भने, “आन्दोलन अशान्त र हिंसात्मक भई मानिसको ज्यान गएपछि मर्माहत भएर मैले पदमा बसिरहनु उचित ठानिनँ। लोकतन्त्रमा शासकीय पदमा बस्ने व्यक्ति जबाफदेही हुनुपर्छ भन्ने मेरो मान्यता हो।”