उत्तर कोरियाले गर्‍यो क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार पश्चिमी तटबाट गरिएको प्रक्षेपणको सर्वोच्च नेता किम जोङ–उनले प्रत्यक्ष अवलोकन गरेका थिए।

उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ। पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति भएको खुलासा गरेको केही दिनपछि प्योङयाङले यो नयाँ प्रक्षेपण गरेको हो।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार पश्चिमी तटबाट गरिएको प्रक्षेपणको सर्वोच्च नेता किम जोङ–उनले प्रत्यक्ष अवलोकन गरेका थिए। परीक्षणप्रति ‘ठूलो सन्तुष्टि’ व्यक्त गर्दै उनले आणविक प्रतिरोधको विश्वसनीयता जाँच्नु र शक्ति प्रदर्शन गर्नु बाह्य सुरक्षा खतराको सामना गर्न आत्मरक्षाको अधिकार भएको बताए।

यो प्रक्षेपण आगामी वर्षको शुरूमा हुने सत्तारुढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलनअघिको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। सो सम्मेलनमा किमले अमेरिकासँगको आगामी सम्बन्ध र वासिंटनको वार्ता प्रस्तावप्रति आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

दक्षिण कोरियाली 'ज्वाइन्ट चिफ्स अफ स्टाफ'ले आइतबार बिहान उत्तर कोरियाली राजधानी क्षेत्र आसपासबाट थुप्रै क्रुज मिसाइल प्रहार भएको पुष्टि गरेको छ। दक्षिण कोरियाले अमेरिकासँगको सैन्य गठबन्धनमार्फत कुनै पनि उक्साहटको सामना गर्न तयार रहेको जनाएको छ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रतिबन्ध ब्यालेस्टिक मिसाइलमा केन्द्रित रहेकाले क्रुज मिसाइल परीक्षणमा स्पष्ट रोक छैन। यद्यपि, कम उचाइमा उड्ने र रडार छल्न सक्ने भएकाले यी मिसाइलहरू अमेरिका र दक्षिण कोरियाका लागि गम्भीर सुरक्षा चुनौती मानिन्छन्। विश्लेषकहरूका अनुसार युद्धको अवस्थामा अमेरिकी विमानवाहक जहाजहरूलाई लक्षित गर्न उत्तर कोरियाले यस्तो रणनीति बनाएको हो।

गत हप्ता मात्र उत्तर कोरियाले नयाँ 'एन्टी-एयर' मिसाइल र निर्माणाधीन आणविक पनडुब्बीको तस्वीर सार्वजनिक गरेको थियो। किमले यसअघि नै अमेरिकी सुरक्षा चुनौती सामना गर्न अत्याधुनिक हतियार विकास गर्ने वाचा गर्नुभएको थियो। कतिपय विज्ञहरूका अनुसार युक्रेन युद्धमा रुसलाई सैनिक र सामग्री सहयोग गरेबापत उत्तर कोरियाले रुसबाट महत्त्वपूर्ण सैन्य प्रविधि प्राप्त गरेको हुनसक्छ।

सन् २०१९ मा अमेरिकासँगको आणविक वार्ता असफल भएपछि उत्तर कोरियाले हतियार परीक्षणलाई तीव्र पारेको छ। यदि अमेरिकाले ‘आणविक निःशस्त्रीकरणको भ्रम’ त्यागे वार्ता पुनः शुरू हुन सक्ने किमले संकेत दिएका छन्। विस्तार गरिएको आणविक क्षमताले सम्भावित वार्तामा उत्तर कोरियालाई बलियो स्थितिमा राख्ने विज्ञहरूको विश्लेषण छ।