आयोगमा एक सय राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन दल दर्ता गराएका छन्। दलहरूले सोमबारसम्म आफ्ना उम्मेदवारको बन्दसूची पेश गर्न पाउने व्यवस्था छ।
काठमाडौँ– प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेश गर्ने कार्य शुरू गरेका छन्।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आइतबार र सोमबार समानुपातिकतर्फको बन्दसूची पेश गर्ने कार्यक्रम तोकिएको छ। सोही तालिकाअनुसार केही राजनीतिक दलहरूले आइतबार नै आयोग पुगेर आफ्नो सूची पेश गरिसकेका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार दिउँसोसम्म तीन वटा राजनीतिक दलका १३४ उम्मेदवारले आवश्यक सबै प्रक्रिया पूरा गरी बन्दसूची दर्ता गराएका छन्। ती दलहरूले आयोगबाट आवश्यक निस्सा लिएर दर्ता प्रक्रिया टुङ्ग्याएका हुन्।
उम्मेदवारको नाम मतदाता सूचीमा भए/नभएको रुजु गरेर आयोगले निस्सा उपलब्ध गराएपछि बन्द सूची पेश गर्ने व्यवस्था छ। यस आधारमा नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टीलगायतले आइतबार दिउँसोसम्म बन्द सूची पेश गरेको जानकारी प्रवक्ता भट्टराईले दिए।
राजनीतिक दलहरूले पुस १३ र १४ गते पेश गरेका बन्द सूचीउपर पुस १५ देखि २० गतेसम्म छानबिन गरिने कार्यतालिका रहेको छ। छानबिनपश्चात् पुस २१ देखि २७ गतेसम्म सूचीमा रहेका त्रुटिहरू सच्याउन दलहरूलाई समय दिइनेछ।
दलहरूले बुझाएको संशोधित सूची ठीक छ वा छैन भनी पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिनेछ। यस प्रक्रियापछि माघ ४ गते बन्दसूची र माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए।
यसअघि कूल एक सय राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत समानुपातिक निर्वाचनमा सहभागी हुन आयोगमा दल दर्ता गराएका छन्। यसरी दर्ता भएका दलहरूले मात्र सोमबारसम्म आफ्ना उम्मेदवारहरूको बन्दसूची पेश गर्न पाउने कानूनी प्रावधान छ।
आइतबार पहिलो दिन साना दलहरू सूची दर्तामा सक्रिय देखिए पनि ठूला राजनीतिक दलहरू भने उम्मेदवार छनोटका लागि आन्तरिक बैठकमै व्यस्त रहेका छन्।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति तोकेको छ। यस पटकको निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। ती मतदाताले प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि दुई छुट्टाछुट्टै मतपत्रमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
