रसुवागढी नाकाको मितेरी पुलबाट सवारी आवागमन खुल्ला

बाढीका कारण विगत ६ महिनादेखि अवरुद्ध रसुवागढी नाकामा बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आइतबारदेखि सवारी आवागमन पुनः सञ्चालन भएको छ।

रसुवा— बाढीका कारण विगत ६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। आइतबार बिहान ७:०० बजेदेखि नेपाली ट्रक र सवारीचालकहरू चिनियाँ भूभाग केरुङतर्फ प्रस्थान गर्न थालेका हुन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार नेपाल र चीन जोड्ने ल्हेन्दे खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएपछि नाका खुला गरिएको हो। सीमा क्षेत्रका चिनियाँ अधिकारीहरूले पुस १७ गतेदेखि नाका सञ्चालनमा ल्याउने सहमति जनाएअनुसार आवतजावत शुरू भएको उनले बताए।

गत असार २४ गतेअगाडि सामग्री लिन केरुङ पुगेका मालवाहक कन्टेनर ल्याउनका लागि नेपाली चालक र व्यवसायीका प्रतिनिधिहरू केरुङ प्रस्थान गरिसकेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए।

ल्हेन्दे खोलाको मितेरी पुल बाढीले बगाएपछि असारदेखि नै व्यापारिक कारोबार ठप्प भएको थियो। यस अवधिमा भन्सार शुल्कबापत उठ्ने करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सान भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए।

बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पुर्‍याउनुका साथै रसुवागढी–स्याफ्रुबेँसी सडक खण्डका विभिन्न स्थानमा नदी कटान गरेको थियो।