क्यासिनो वाल्डोका अध्यक्ष चेन पक्राउ

प्रहरीले ठगीको आरोपमा क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष, चिनियाँ नागरिक चेन मिन चिङलाई पक्राउ गरेको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ— प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष, चिनियाँ नागरिक चेन मिन चिङलाई पक्राउ गरेको छ।

ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार, उक्त क्यासिनोमा ‘डमी’ खेलाडी खडा गरी विशेष प्रकारको लेन्स र तासमा चिप्स जडान गरेर ठगी गर्ने गरिएको पाइएको थियो। यसअघि प्रहरीले सोही कार्यमा संलग्न चार भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको थियो। “सोही विषयको अनुसन्धानका लागि चिङलाई पक्राउ गरिएको हो,” उनले भने।

ठमेलस्थित अलफ्ट होटल परिसरमा सञ्चालित उक्त क्यासिनोमा ‘क्यासिनो इभेन्ट’का नाममा भारतीय समूहले संगठित रूपमा ठगी धन्दा चलाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।