सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालिका मृत्यु

सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

सर्लाही– सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। हरिपूर्वा–६ स्थित पोखरी नजिकै शनिबार दिउँसो इँटा लोड गरिएको मधेस प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो।

प्रहरीका अनुसार बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए। मृतक बालिकाको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।

यसैगरी, सर्लाहीकै धनकौल गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ज १ त ७०१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धनकौल–४ मैनाथपुरका ३० वर्षीय अरुणराय यादवको ज्यान गएको हो। आफ्नै ट्याक्टरले च्यापिएको अवस्थामा शनिबार बिहान उनको शव फेला परेको डीएसपी राईले बताए।