ताइवानमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

ताइवानको उत्तरपूर्वी तटीय शहर यिलानलाई केन्द्रबिन्दु बनाएर शनिबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

ताइवानको उत्तरपूर्वी तटीय शहर यिलानबाट ३२ किलोमिटर दुरीमा शनिबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। ताइवानको मौसम प्रशासनका अनुसार भूकम्पको केन्द्रविन्दु ७३ किलोमिटर गहिराइमा थियो।

भूकम्पको धक्का उत्तरी ताइवान र राजधानी ताइपेईमा महसुस गरिएको थियो। प्रशासनले यस भूकम्पलाई ‘चार तीव्रता’को श्रेणीमा राखेको छ, जसले सामान्य भौतिक क्षति हुनसक्ने संकेत गर्छ। यद्यपि, हालसम्म ठूलो मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन्।

भूकम्पका कारण यिलानका तीन हजारभन्दा बढी घरमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। ताइवान पावर कम्पनीले अहिले बिजुली पुन: सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ।

दुई वटा टेक्टोनिक प्लेटको संगमस्थलमा रहेकाले ताइवानमा भूकम्पको जोखिम सधैँ उच्च रहने गर्दछ। यसअघि सन् १९९९ मा गएको ७.३ म्याग्निच्युडको भूकम्पमा दुई हजारभन्दा बढी र २०१६ मा १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।