महोत्तरीका किसानलाई उखु व्यवस्थापनको धपेडी

पुसभित्रै बाली लगाउन नसके जग्गा ६ महिना बाँझो रहने र माटो रुखो हुने डरले दिनरात नभनी उखु व्यवस्थापनमा जुट्नुपरेको किसान जगन्नाथ महतोको भनाइ छ।

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ। चैतेबाली लगाउने बेला घर्कँदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्‍याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो।

भंगाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए। “समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने जाडो पनि नभनी उखुको काममा जोतिनुपरेको छ,” उनले भने। 

यता एक पटक लगाइएको उखुखेतीबाट दुई वर्ष बाली लिइन्छ। पहिलो वर्षको बालीलाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ। हाल खुट्टी उखु भएको जग्गामा तत्काल चैते (चैती) बाली लगाउनुपर्ने बाध्यता छ।

“गहुँ त पुस २२ सम्म लगाइसक्नुपर्छ, वैशाखी (चैत र वैशाखमा उत्पादन लिइने) तरकारी पनि ढिलोमा पुसभरिमा लगाइसक्नुपर्छ”, बर्दिबास–७ चौखिका किसान जगन्नाथ महतो भने, “उखु व्यवस्थापन नगरी चैतेबाली नलाग्ने हुँदा हाल हामीलाई सास फेर्ने फुर्सतसमेत नभएको अवस्था छ।”

जिल्लाको उत्तरी क्षेत्रको जग्गा चाँडै रुखो हुने हुँदा पुस महिनाभित्रै बाली लगाउन नपाए ६ महिना बाँझो पर्ने चिन्ताले किसान दिनरात नभनी उखु व्यवस्थापन लागेका उनले बताए।

जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले गत सोमबारदेखि उखु ‘क्रसिङ’ शुरू गरिसकेको छ। हाल किसानले धमाधम उद्योगमा उखु पुर्‍याइरहेका छन्। कतिपयले घरआँगनमै उखु पेलेर सख्खर बनाउन थालेका छन्।

गौशाला–१२ कालीपुरका किसान भोगेन्द्र महतोले भने, “मुडन उखु त झन्डै चैतसम्मै काट्दा पनि हुन्छ, खुट्टी काट्ने समय भने बितिसक्यो। खुट्टी उखु काटेर मात्र नभई त्यसलाई पेल्ने र सख्खर बनाउनेसम्मको चाँजो सँगसँगै गर्नुपर्ने हुँदा भ्याइनभ्याइ परेको छ।”

जिल्लामा यसपालि नौ हजार ६०० बिघामा रहेको उखुखेतीमध्ये पाँच हजार बिघामा खुट्टी छ। उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले मंसिर १५ भित्रै खुट्टी उखु कटान गर्न चिनी उद्योग सञ्चालन हुन पर्नेमा त्यसमा ढिलाइ हुँदा किसानलाई केही धपेडी परेको बताए।

“हामीले सरकारलाई प्रत्येक वर्ष कात्तिक १५ भित्र चिनी उद्योग, उखु उत्पादक किसानका प्रतिनिधि र सरकारबीचको सहमतिमा उखुको मूल्य निर्धारण र मंसिर १५ बाट क्रसिङ सञ्चालन हुनुपर्ने माग राख्दै आएका छौँ”, उनले भने, “सोअनुसार तालिका कार्यान्वयन नहुँदा किसानलाई कठिनाइ भइरहेको छ।”

सरकारले यसपालि निकै ढिलो गरी मंसिर २२ मा मात्र उखुको मूल्य निर्धारण गरेको थियो। आगामी वर्ष समयमै तालिका कार्यान्वयन गर्न सरोकार भएकाहरू सबै हालैदेखि लाग्नुपर्ने अध्यक्ष कुशवाहाको भनाइ छ।