जेलेन्स्की–ट्रम्पबीचको फ्लोरिडा वार्ताअघि किभमा रुसको भीषण हवाई आक्रमण

युक्रेनी वायुसेनाले आक्रमणमा रुसले ५१९ वटा ड्रोन र ४० वटा क्षेप्यास्त्र प्रयोग गरेको जनाएको छ। रुसी आक्रमणलाई मध्यनजर गर्दै पोल्यान्डले समेत सतर्कता अपनाएको छ।

शनिबार (डिसेम्बर २७, २०२५) युक्रेनको किभमा रुसी हवाई आक्रमणबाट क्षतिग्रस्त बनेको एक अपार्टमेन्ट भवनको छतमा भग्नावशेष हटाउँदै उद्धारकर्मी। तस्वीर: एभगेनी मालोलेटका/एपी

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फ्लोरिडामा हुने वार्ताको अघिल्लो दिन रुसले युक्रेनको राजधानी किभमा भीषण हवाई आक्रमण गरेको छ। शनिबार बिहान भएको क्षेप्यास्त्र तथा ड्रोन प्रहारमा परी एक जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।

किभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममार्फत राजधानीका विभिन्न स्थानमा विस्फोट भएको पुष्टि गर्दै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। उनले भने, “राजधानीमा शृंखलाबद्ध विस्फोट भएका छन्, एयर डिफेन्स फोर्स (वायु रक्षा बल) ले यसबारे थप विवरण संकलन गर्दैछ।”

समाचार संस्था एपीका अनुसार रुसले ‘किन्जल हाइपरसोनिक’ मिसाइल र ड्रोन प्रयोग गरी विशेषगरी किभका ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ। शनिबार बिहानैदेखि शुरू भएको आक्रमण दिनभर जारी रहँदा राजधानीमा घण्टौँसम्म विस्फोटका आवाज सुनिएका थिए। रुसी रक्षा मन्त्रालयले यसलाई आफ्नो भूमिमा भएको युक्रेनी आक्रमणको जवाफमा गरिएको ‘बृहत् सैन्य कारबाही’को संज्ञा दिएको छ।

युद्ध अन्त्यका सम्भावित योजनाबारे छलफल गर्न राष्ट्रपति जेलेन्स्की आइतबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न फ्लोरिडा जाँदैछन्। त्यसअघि उनले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। जेलेन्स्कीका अनुसार ट्रम्पसँगको भेटमा डोनेट्स्क र जापोरिजिया क्षेत्रको सुरक्षा प्रत्याभूति र युक्रेनको क्षेत्रीय अखण्डताका विषयमा छलफल हुनेछ।

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणबाट ऊर्जा र नागरिक पूर्वाधारमा गम्भीर क्षति पुगेको जानकारी दिएका छन्। यसका कारण धेरै जिल्लाहरूमा विद्युत् र तातो पानीको आपूर्ति ठप्प भएको छ।

शान्ति वार्ताका लागि अमेरिका प्रस्थान गर्नुअघि एक अडियो सन्देश जारी गर्दै जेलेन्स्कीले रुसको कडा आलोचना गरे। उनले भने, “हामी शान्ति वार्तातर्फ अघि बढ्दै गर्दा रुसले यो भीषण आक्रमण गरेर वार्ताप्रति आफ्नो वास्तविक र हिंसक सोच प्रदर्शन गरेको छ। यो नै वार्ताका लागि रुसको प्रतिक्रिया हो।”

आन्तरिक मन्त्री इहोर क्लाइमेन्कोका अनुसार आक्रमणबाट १० भन्दा बढी आवासीय भवनमा क्षति पुगेको छ। उद्धार टोलीहरूले भत्किएका भवनहरूबाट प्रभावित नागरिकहरूको उद्धार गरिरहेका छन्।

घटनाकी प्रत्यक्षदर्शी ५२ वर्षीया ओलेना कार्पेन्कोले एक व्यक्तिको जलेर मृत्यु भएको कारुणिक दृश्य सुनाउँदै एपीलाई भनिन्, “उनको चिच्याहट अझै पनि मेरो कानमा गुञ्जिरहेको छ। थर्मल पावर प्लान्टमा विस्फोट भएलगत्तै हाम्रो भवनमा प्रहार भयो। मैले आफ्नै आँखाले अपार्टमेन्ट जलिरहेको देखेँ र मद्दतका लागि याचना गरिरहेका ती व्यक्तिको अन्तिम आवाज सुनेँ।”

युक्रेनी वायुसेनाले यो आक्रमणमा रुसले ५१९ वटा ड्रोन र ४० वटा क्षेप्यास्त्र प्रयोग गरेको जनाएको छ। यो संख्या युद्ध शुरू भएयताकै ठूलोमध्येको एक मानिएको छ। रुसी आक्रमणको तीव्रताका कारण छिमेकी राष्ट्र पोल्याण्डले समेत उच्च सतर्कता अपनाएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पोल्यान्डले युक्रेनको सिमानानजिकै लडाकु विमान उडाउनुका साथै केही समयका लागि विमानस्थलसमेत बन्द गरेको थियो।

सन् २०२२ देखि शुरू भएको युक्रेन रुस युद्धले हालसम्म दशौँ हजारको ज्यान लिइसकेको छ। आइतबार फ्लोरिडामा हुने जेलेन्स्की र ट्रम्पबीचको वार्तालाई विश्वले चासोसाथ हेरेको छ। वार्तामा युद्ध अन्त्य गर्ने प्रस्तावित मार्गचित्रमाथि गहन छलफल हुने अपेक्षा गरिएको छ।