निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ— प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने विश्वास दिलाएका हुन्।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावका लागि तयार रहेको बताए। “कांग्रेस, एमालेसहित सबै दल चुनावमा जान तयार भएका छौँ,” उनले भने, “सरकारले सुरक्षाको उपयुक्त वातावरण मिलाउनुपर्छ।”

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन लागेको निर्वाचनलाई सफल बनाउन दलहरूलाई आग्रह गरिन्। उनले निर्वाचनलाई राष्ट्रको भविष्य र स्थिर लोकतन्त्रको सुनिश्चितताका लागि अनिवार्य भएको बताउँदै यसलाई सफल बनाउनु सबैको जिम्मेवारी रहेको उल्लेख गरिन्।

सचिवालयका अनुसार प्रधानमन्त्रीले तीन पूर्वप्रधानमन्त्रीहरूसँग भनिन्, “यो निर्वाचन सफल पार्न सबै सहभागी हुनुपर्छ। निर्वाचनको वातावरण बनिरहेको छ, यो स्वागतयोग्य छ।” 

उनले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन सरकारले उपलब्ध गराएकाले सुरक्षाकर्मीको मनोबल बढेको समेत स्पष्ट पारिन्।