जेनजी आन्दोलनका क्रममा भागेका कैदीको भारतमा मृत्यु

'जेनजी आन्दोलन'को मौका छोपी कारागारबाट फरार भएका एक कैदीको भारतमा मृत्यु भएको छ।

झापा– 'जेनजी आन्दोलन'को मौका छोपी कारागारबाट फरार भएका एक व्यक्तिको भारतमा मृत्यु भएको छ। झापाको बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय आलम मियाँको भारतको हिमाञ्चल प्रान्तमा मृत्यु भएको हो।

गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका मियाँ भारतको हिमाञ्चलस्थित एचएनएफए पानी प्रशोधन कम्पनीमा लुकीछिपी काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार पुस १० गते अचानक बेहोस भएर लडेका मियाँको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

जबरजस्ती करणी मुद्दामा अदालतको फैसला बमोजिम चार वर्षदेखि कैद सजाय भोगिरहेका मियाँ आन्दोलनको क्रममा कारागारबाट भागेका थिए। मृतकको शव सीमावर्ती भारतीय नाका गलगलिया हुँदै शनिबार घर ल्याइएको छ।