समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न आयोगको आग्रह

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी पुस १३ र १४ गते अपराह्न ४ बजेभित्र तोकिएको विधि, प्रक्रिया र आवश्यक कागजात पूरा गरी उम्मेदवारको बन्दसूची पेस गर्न अनुरोध गरेको हो। निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुअघि वा पछि राजनीतिक दलहरूले त्यसलाई सार्वजनिक गर्न सक्नेछन्।

विज्ञप्तिमा भनिएको छ, “समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४ र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएका प्रक्रिया र प्रमाण पुग्ने कागजातसहित तोकिएको समयभित्र उम्मेदवारको सूची पेस गर्नुपर्नेछ।”