युक्रेनको नयाँ शान्ति प्रस्तावमा रुसको असहमति

नयाँ योजनामा युक्रेनले सम्भावित क्षेत्रीय सम्झौतालाई स्वीकार गरेको छ। यसमा सुरक्षा प्रत्याभूति, पुनर्निर्माण र अर्थतन्त्रसम्बन्धी विषय समावेश छन्।

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रुसले असहमति जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली संघ (ईयू) का सहयोगीले अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पुर्‍याउने प्रयास गरेको रुसको आरोप छ।

भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गरेका छन्। उक्त भेटमा नयाँ शान्ति प्रस्तावबारे छलफल हुनेछ, जसले युद्धलाई हालको मोर्चामा स्थिर राख्ने र पूर्वी युक्रेनमा सैनिक रहित क्षेत्र सिर्जना गर्ने लक्ष्य राखेको छ। 

रुसले भेटअघि योजनाप्रति आपत्ति जनाएको हो। यसबीचमा जेलेन्स्कीले युरोपेली सुरक्षा संगठनका महासचिव, जर्मनीका प्रमुख मन्त्री र अन्य युरोपेली नेतासँग टेलिफोन वार्ता गरेका छन्। नयाँ योजनामा युक्रेनले सम्भावित क्षेत्रीय सम्झौतालाई स्वीकार गरेको देखिन्छ। यसमा सुरक्षा प्रत्याभूति, पुनर्निर्माण र अर्थतन्त्रसम्बन्धी विषय समावेश छन्।

“रुसले सधैँ सहमति नदिने कारण खोज्छ। केही दिनभित्र उनीहरूको आधिकारिक जवाफ पत्ता लाग्नेछ,” जलेन्स्कीले भने। युक्रेनले केही क्षेत्र फिर्ता दिनुअघि जनमतसंग्रह गर्ने र परमाणु ऊर्जा केन्द्रमा रुसको सहभागिता आवश्यक नहुने पनि उनले स्पष्ट पारे। 

नयाँ योजनाअनुसार, युक्रेनले सैनिक संगठनमा सदस्यता लिन खोजेको कानूनी अधिकार त्याग्नुपर्ने वा रुसले सन् २०१४ देखि कब्जा गरेको भूमि मान्यता दिनुपर्ने शर्त हटाइएको छ। यद्यपि रूसले आफू अझै डोनबास क्षेत्रबाट पूर्ण फिर्ता लिन र सैनिक संगठनमा सदस्यता प्रयास रोक्न अडिग रहेको जनाएको छ। (रासस/एएफपी)