गोदावरीका नगरप्रमुख महर्जनविरुद्ध भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन

अख्तियारले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

विशेष अदालतले यसअघि गरेको फैसलाप्रति चित्त नबुझाउँदै आयोगले आज नगरप्रमुख महर्जनसहितका प्रतिवादीहरूविरुद्ध फरक–फरक पाँच वटा पुनरावेदन निवेदन दर्ता गराएको हो।

आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जन, नगरउपप्रमुख मुना अधिकारीसमेतका प्रतिवादीहरूले विभिन्न आर्थिक वर्षमा राजस्व निर्धारण गर्दा बदनियत राखी प्रचलित कानूनको उल्लंघन गरेका छन्। उनीहरूले संघीय र प्रदेश आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई बेवास्ता गरी राजस्व चुहावट गराई नेपाल सरकारलाई हानि पुर्‍याएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन बमोजिम पुनरावेदन गरिएको हो।”

आयोगका अनुसार प्रतिवादीहरूले जम्मा एक अर्ब चार करोड ८७ लाख ४५ हजार २८७ रुपैयाँ राजस्व चुहावट गरी सरकारलाई हानि पुर्‍याएको दाबी गरिएको छ।