जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चबाट खारेज

सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ।

काठमाडौँ– सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले शुक्रबार निर्देशनात्मक आदेश जारी गर्दै उक्त रिट निवेदन खारेज हुने फैसला सुनाएको हो। आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई विपक्षी बनाएर अधिवक्ता विपीन ढकालले उक्त रिट दायर गरेका थिए।

निवेदनमा आयोगका पदाधिकारीहरू निष्पक्ष नभएको र विषयवस्तुमा उनीहरूको तटस्थता नरहेको दाबी गरिएको थियो। यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले यस विषयमा विपक्षीसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट खारेज हुने फैसला भएको छ भने यसको विस्तृत निर्देशनात्मक आदेश लिखित रूपमा आउन बाँकी छ। यो फैसलासँगै जाँचबुझ आयोगको वैधानिकतामाथि उठेको कानुनी प्रश्न टुंगिएको छ भने आयोगलाई आफ्नो कार्य अगाडि बढाउन बाटो खुलेको छ।