नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारको निर्णय

वैदेशिक रोजगारीका सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपालीले नेपाल फर्किएको समयमा ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन दिएमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णयसमेत सरकारले गरेको छ।

काठमाडौँ– सरकारले विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डोटीको बीपीनगर, ताप्लेजुङको श्रीजङ्घा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयअन्तर्गतको संगठन संरचना र दरबन्दी तेरिज तथा नागरिकता (चौथो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णयसमेत गरिएको जानकारी दिए।

बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गर्नुका साथै जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गरेको छ।

त्यसैगरी, वैदेशिक रोजगारीका सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल फर्किएको बखत ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन पेश गरेमा पुनः श्रम स्वीकृतिका लागि अनुमति प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ।