१-एमडीबीसम्बन्धी मुद्दामा मलेसिया पूर्वप्रधानमन्त्री नाजिब दोषी ठहर

मलेसियाको चर्चित १-एमडीबी भ्रष्टाचार प्रकरणका चार अभियोगमा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई अदालतले दोषी ठहर गरेसँगै उनको जेल बसाइ अझै लम्बिने निश्चित भएको छ।

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार ‘१-एमडीबी’ सरकारी लगानी कोषबाट करोडौँ अमेरिकी डलर दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ। मलेसियाको उच्च अदालतले ७२ वर्षीय नाजिबलाई शक्तिको दुरुपयोगसम्बन्धी थप चार वटा अभियोगमा दोषी ठहर गरेको हो। मनी लाउन्डरिङसम्बन्धी थप अभियोगको फैसला प्रक्रिया भने जारी रहेको जनाइएको छ।

अभियोजन पक्षका अनुसार नाजिबले १-एमडीबी कोषबाट आफ्नो व्यक्तिगत बैंक खातामा ७० करोड डलरभन्दा बढी रकम हिनामिना गरेका थिए। नाजिबले भने सबै आरोप अस्वीकार गर्दै उक्त रकम साउदी अरेबियाबाट आएको राजनीतिक चन्दा भएको र 'लो टेक झो' नेतृत्वका ‍वित्तदाताहरूले आफूलाई छलमा पारेको दाबी गरेका छन्। तर, घोटालाको मुख्य योजनाकार मानिने लो अझै फरार छन्।

न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले नाजिबको साउदी अनुदानसम्बन्धी दाबी 'अविश्वसनीय' रहेको टिप्पणी गरे। उनका अनुसार साउदी दातासँग सम्बन्धित प्रस्तुत गरिएका चार वटा पत्र नक्कली थिए र प्रमाणहरूले स्पष्ट रूपमा उक्त रकम १-एमडीबीबाटै आएको देखाएको छ। साथै, ‘आफू ठगिएको’ ‘निर्दोष व्यक्ति भएको’ भन्ने नाजिबको प्रतिरक्षा तर्क पनि अदालतले अस्वीकार गरेको छ।

न्यायाधीशले नाजिब र लो टेक झोबीच 'घनिष्ठ र अटुट सम्बन्ध' रहेको उल्लेख गर्दै लोले १-एमडीबीमा नाजिबका लागि प्रतिनिधि, मध्यस्थ र सहजकर्ताको भूमिका खेलेको टिप्पणी गरे। उनले नाजिबले ठूलो रकमको स्रोतबारे जाँच नगरेको, शंकास्पद रकम प्रयोग गरेको र अनुसन्धान गरिरहेका तत्कालीन महान्यायाधिवक्ता तथा भ्रष्टाचारविरोधी प्रमुखलाई हटाएर आफ्नो पद जोगाउने प्रयास गरेको पनि उल्लेख गरे।

“अभियुक्त कुनै अनजान ग्रामीण व्यक्ति होइनन्,” न्यायाधीश सेक्वेराहले भने, “उहाँलाई चारैतिर भइरहेको गम्भीर कुकर्मबारे अनभिज्ञ देखाउने प्रयास पूर्ण रूपमा असफल भएको छ।”

सुनुवाइका क्रममा निलो सुटमा रहेका नाजिब शान्त र कति–कति बेला नोटबुकमा टिपोट गरिरहेका देखिन्थे। सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका नाजिब यसअघि नै १-एमडीबीसम्बन्धी अर्को मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका छन्। उक्त घोटालाकै कारण सन् २०१८ को निर्वाचनमा उनको सरकार पराजित भएको थियो।

सन् २०२० मा उनलाई शक्तिको दुरुपयोग, आपराधिक विश्वासघात र मनी लाउन्डरिङको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको थियो, जुन सजाय अगस्ट २०२२ देखि कार्यान्वयनमा आएको हो। त्यससँगै नाजिब जेल जाने मलेसियाका पहिलो पूर्वप्रधानमन्त्री बनेका थिए। पछि क्षमादान बोर्डको सिफारिसमा उनको सजाय आधा र जरिबानामा केही कटौती गरिएको थियो।

नाजिबले सन् २००९ मा प्रधानमन्त्री बनेपछि १-एमडीबी विकास कोष स्थापना गरेर त्यसको सल्लाहकार बोर्डको अध्यक्षतासमेत सम्हालेका थिए। यही कोषसँग जोडिएको भ्रष्टाचार काण्ड विश्वव्यापी रूपमा फैलिएको थियो। अमेरिकी न्याय मन्त्रालयका अनुसार सन् २००९ देखि २०१४ को बीचमा करिब चार अर्ब ५० करोड डलर कोषबाट अपचलन गरी विभिन्न देशमार्फत धनशोधन गरिएको थियो। उक्त रकम हलिउड फिल्म, लक्जरी होटल, याट, कला र गहनामा खर्च गरिएको आरोप छ।

यसै काण्डका कारण 'गोल्डम्यान स्याक्स'ले अर्बौं डलर जरिबाना तिर्नुपरेको थियो। लामो समयसम्म शक्तिशाली राजनीतिक परिवारका सदस्यका रूपमा प्रभाव राखेका नाजिब १-एमडीबी घोटालापछि जनआक्रोशको केन्द्रमा आएका हुन्। यसै हप्ता नाजिबले नजरबन्दमा सजाय पूरा गर्ने प्रयास गरे पनि त्यसमा असफल भए। अदालतले शाही आदेश संवैधानिक मापदण्डअनुसार नभएको ठहर गरेपछि उनी अझै लामो समय जेलमै बस्नुपर्ने सम्भावना बढेको छ। नाजिबकी पत्नी रोसमाह मन्सोर पनि छुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई सजायको सामना गरिरहेकी छन्, यद्यपि उनी हाल अपिलको प्रतीक्षामा जमानतमा छिन्।