गौरीफन्टा नाकाबाट तेस्रो मुलुकका नागरिकको आवागमन ठप्प

अध्यागमन कार्यालयले आन्तरिक सेवा यथावत् राखे पनि भारतीय पक्षले सेवा रोकेका कारण गौरीफन्टा नाका प्रयोग गर्ने पर्यटकहरू अहिले कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गर्न बाध्य छन्।

धनगढी– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका यात्रुको आवागमन एक वर्षदेखि रोकिएको छ। गौरीफन्टा नाका हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकलाई आवागमनमा सीमापारि भारतीय पक्षले रोक लगाएसँगै कार्यालयको काम पनि रोकिएको हो।

कार्यालयका सूचना अधिकारी शान्ति बुढाले भने, “गौरीफन्टास्थित भारतीय अधिकारीले आफूहरूसँग स्रोतसाधन नभएको भनेर गत वर्ष जनवरी(पुस)देखि तेस्रो मुलुकका यात्रुको आवागमनको काम रोकेको छ। उक्त काम रोक्दा गौरीफन्टा पुग्ने पाहुनाले गन्तव्यतर्फ जान नपाएर समस्या भइरहेको छ।”

उनका अनुसार यहाँस्थित अध्यागमन कार्यालयले अध्यागमनसम्बन्धी व्यवस्थापन तथा सेवा प्रवाहलाई यथावत् राखे पनि सीमापारि पुग्ने यात्रुलाई आवागमन गर्न दिइएको छैन। आवागमनका लागि गौरीफन्टा नाका प्रयोग गर्न नपाएपछि यात्रुले कञ्चनपुरको गड्डाचौकी सीमा नाका प्रयोग गर्न थालेका उनले जानकारी दिए।

गौरीफन्टामा आवागमन रोकिँदा कैलाली अध्यागमन कार्यालयको राजस्व संकलन पनि प्रभावित भएको सूचना अधिकारी बुढाले बताए। साथै यो नाका प्रयोग गर्दै आएका यात्रुलाई अन्य नाका प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। उनका अनुसार कार्यालयले विदेशी नागरिकको भिसाको म्याद थपिदिने, वैवाहिक भिसा दिनेलगायत सेवा उपलब्ध गराउँदै आएको छ।

“कार्यालयको सन् २०२४ को वार्षिक तथ्यांकका अनुसार यो नाका हुँदै तेस्रो मुलुकका ३० नागरिक भित्रिएकामा ३२ नागरिक बाहिरिएका थिए। त्यसपछि भने काम रोकिएको छ”, सूचना अधिकारी बुढाले भने। अध्यागमन व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी रहेको अध्यागमन विभागअन्तर्गत प्रवेश तथा प्रस्थान विन्दुमा अध्यागमन कार्यालय सञ्चालनमा छन्।