जयदुर्गेमा हामीले के मात्रै गरेनौँ? झगडा गरेका थियौँ। रोयौँ र सँगै हाँस्यौँ। सात वर्षभन्दा लामो समय एउटै परिवार भएर अनेकन् जिन्दगी बाँचेका थियौँ। यी सबै पलको साक्षी बनेर उभिएको थियो जयदुर्गे गेस्टहाउ।
शंकरदेव क्याम्पसबाट अगाडि बढेपछि तरकारी बजार पुग्नु हुन्छ। त्यसपछि थोरै अघि बढेपछि बायाँतिर मोडिने बाटो आउँछ, तपाईं सिधा बायाँ जानुहुन्छ भने भृकुटीमण्डपको फनपार्क निस्किनु हुन्छ। दायाँ लाग्नु भो भने ओरालो अलिकति बगेको सानो गल्ली आउँछ। ठिक त्यसको कुनामा टाँसिएर अदबका साथ उभिएको थियो-जयदुर्गे गेस्टहाउस।
त्यही जयदुर्गे गेस्टहाउले बर्सौं बास दिएको पूर्व-पश्चिमका कवि, लेखक तथा साहित्यकारहरूमा समर्पित छ यो लेख। सबै नामहरू यहाँ उल्लेख गर्न सकिँदैन/सकस गरिएन। लिस्टमा धेरै कवि र लेखक साहित्यकारको लामो नामको जुलुस लागेर आउँछ। यो संस्मरण पढेपछि तपाईंलाई लाग्छ, ‘मेरो नाम छुट्यो।’ तर यो विश्वासका साथ लेखिरहेको छु कि तपाईंको नाम छुटे पनि तपाईंको गुनासो रहने छैन।
आख्यानकार राजन मुकारुङ, कवि स्वप्निल स्मृति र मलगायत दुई चार थान कविहरू। हिउँदको कुनै चिसो साँझ तताउन बागबजारको एउटा दारु मन्त्रालय प्रवेश गरेका थियौँ। चैत-वैशाखमा हावाहुरी चल्दा जसरी मक्किएको कमजोर खोल्मा (छाप्रो) हल्लिन्छ, त्यसरी नै हल्लिँदै हल्लिँदै निस्केका थियौँ अबेर राती। अब हामीलाई बास चाहिएको थियो।
दुईचार ओटा गेस्ट हाउसको ढोका पुग्यौँ, तर खुलेन। चहार्ने क्रममा एउटा बोर्ड चम्किरहेको थियो। त्यसमा लेखिएको थियो, ‘यहाँ खाने र बस्ने सुविधा छ, जयदुर्गे गेस्टहाउ।’ मुनि मोबाइल र ल्यान्डलाई-फोन नम्बर थियो। मैले ल्यान्डनाइनमा डायल गरेँ। चार-पाँच घण्टीले बाँसुरी बजाएपछि ढोका खुल्यो। उनीहरूले नाम र फोन नम्बर फाइलमा दर्ता गराए। त्यो रात हामीलाई जयदुर्गेले न्यानो स्वागत गर्यो। बिहान उठेपछि पो थाह भयो, यस गेस्टहाउले मलाई तीन वर्ष पहिले यसरी नै स्वागत गरेको रहेछ।
त्यसपछिका साँझहरूमा फर्कनलाई कपनतर्फको माइक्रो बस नपाउँदा वा साथीहरूसँग भट्टीमा लैबरी गाएपछि ढोका ढकढकाउन पुग्थौँ, जयदुर्गे। भित्रबाट कर्मचारीहरू ‘को हो?’ भन्दै कराउँथे। ढोका बाहिरबाट ‘हामी हौँ’ भन्थ्यौँ ।
‘हामी भन्नाले?’
‘सीबी हो हामी।’ बाहिरबाट एकमुस्ट आवाजमा भन्थ्यौँ ।
पहिलो पटक बास बस्दा गेस्टहाउसको फाइलमा सीबी नाम दर्ता गराएको थिएँ। बिस्तारै कर्मचारीहरू र साहुजीसँग घुलमिल हुँदै गएँ। साहुजी मोरङ लेटाङ निवासी गणेश श्रेष्ठ हुनुहुन्थ्यो।
“ए तपाईं र म पूर्वैको रहेछौँ नि! मेरो घर पान्थर हो” भन्दै साहुजीसँग नजिक हुने सुविधा प्रयोग गरेको थिएँ। यो एक प्रकारले चाकडी थियो। अब कर्मचारीहरूले ‘सीबी दाइ, सीबी सर’ भन्न थाले। साहुजीले थोरै (फारो) मुस्कान पस्किँदै अगाडिको दाँत हल्का देखाउँदै सीबीजी भनेर सम्बोधन गर्थे। उनको त्यो महक मुस्कान बडो व्यापारिक थियो।
सीबी दाइ, सीबी सर र सीबीजीको नाउँले प्रख्यात हुँदै गएँ म यहाँ। हाम्रा प्यासी साँझहरूले बोतल ढलाएपछि प्रफुल्ल हुँदै उठेर हाम्रो आगमन उहीँ हुन्थ्यो। क्रमशः हामीसँगै बास बस्ने कवि लेखकहरूको संख्यामा वृद्धि हुन थाल्यो। कुनै साँझ वा रात मेरो अनुपस्थितिमा सर्कलका सदस्यहरूले सीबी नाउँ उच्चारण गरेरै यस गेस्टहाउसको ढोका खोल्थे। अनि “ओइ, सीबी नाउँ लिएपछि मात्रै ढोका खोल्छ त जयदुर्गेले, होइन के साँठगाँठ छ तेरो?” भन्दै हाँस्दै फोन गर्थे साथीहरू।
कहिलेकाहीँ चाहिँ “ओइ चन्द्रवीर तँ कता हो?” भन्दै फोन गर्थे। ‘जयदुर्गेको फलानो कोठा’मा भनेपछि “ए ए, एक छिनपछि म र फलाना आउँछौँ हए” भन्थे। त्यसको आधा/पौने घण्टामा झण्डैझण्डै मंगोलियन आँखाजस्तो चिम्सोचिम्सो रातोरातो झिमझिम परेला हल्लाउँदै र हाँस्दै आइपुग्थे केटाहरू।
चुरोटको धुवाँको सलवार भृकुटीमण्डपको फराकिलो आकाशमा उडाएर वा कुनै चिया पसलको साँघुरो आकाशमाथि टाँगेर हाम्रो बहसको म्याराथन शुरू हुन्थ्यो ढल्कँदो दिनमा। रातको दस एघार बजेसम्म जयदुर्गेको ढोका खुकुलो हुन्थ्यो हाम्रा लागि। अघि दिउँसोको म्याराथन बहस बल्ल टुंगिन्थ्यो। बिस्तारै गेस्टहाउसले राती अबेरसम्म स्वागत गर्न थाल्यो। राजधानी बाहिरका हाम्रो सम्पर्कमा रहेका कवि र लेखकहरूलाई बास दिन थाल्यो। कहिले सुदूर पूर्व कहिले सुदूरपश्चिम त कहिले मध्यपश्चिमका प्रतिनिधि समेट्दै जयदुर्गेले लगभग नेपालभरका नेपाली कवि र लेखकहरूलाई समेट्न थाल्यो। बेलाबेला भारतीय-नेपाली भाषी कविहरूको पनि यहाँ इन्ट्री हुन्थ्यो।
हामीसँगै छिर्थे हाम्रा चर्का हल्ला, खित्का, श्लील-अश्लील शब्द र भाषा। हामीले यहाँ प्रत्येक मै हुँ भन्ने कवि लेखकहरूको अपरेसन गर्न बाँकी राखेनौँ। उनीहरूको सिर्जनाको नापजाँच गर्यौँ। अहिले सम्झन्छु–हामी पनि अर्को “मै हुँ” भन्ने जमात थिएछौँ। अचेल हाँस उठ्छ। हल्लाको ग्राफ बढेर जान्थ्यो। गर्मी याममा कम्मरभन्दा माथिको लुगा खोलेर बस्दा/अलि हाँस्दा ‘शान्त भएर भएर बस् हए चन्द्रे, अहिले तिमीहरूको फोटो खिचेर फेसबुकमा छताछुल्ल पारिदिन्छु’ भन्दै आरके अदिप्त गिरी हामीमाझ क्यामेराको लेन्स सोझ्याउँथ्यो। आरकेसँग हरदम क्यामेरा हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ। एकै छिनपछि ऊ आफै ‘काठैको चम्ची काठैको बिर्को’वाला आफै रचित गीत गाउँदै नाच्न थाल्थ्यो।
एक रात रावत र म पल्लो खाट र वल्लो खाटमाथि उभिएर लात हानाहान गरेका थियौँ। त्यस बेला कवि स्वप्निल स्मृतिले “होइन कविहरूले त हातले पो कविता लेख्ने हो। कहाँ खुट्टाले छाती छातीमा लेख्ने? यो तरिका गलत भो कविजीहरू” भन्दै फिस्स हाँसे। अरू पनि हाँस्न थालेपछि हामी पनि हाँस्दै शान्त भएका थियौँ।
“सीबी सर, हल्ला धेर भो!,” कर्मचारीहरू कराउँदै आउँथे।
एक छिन माहोल शान्तझैँ हुन्थ्यो। फेरि शुरू भइहाल्थ्यो। यस्तो परिस्थितिमा कोरोनाजस्तो महामारीलाई नियन्त्रण गर्न सकिन्थ्यो होला, तर हल्ला नियन्त्रण गर्न प्राय: असम्भव हुन्थ्यो। हल्ला कम गर्नुहोला सीबीजी भन्दै साहुजी स्वयं सिकायत गर्थे। तर हल्ला कम भए पो! पछिपछि सिकायत पनि हुनै छोड्यो। सायद साहुजी र कर्मचारी भाइहरू हामीसँग आजित भएरै होला, पछिल्ला रातहरूमा गुनासो बेलाबेला मात्र सुन्न पाइन्थ्यो। उसो त हामी पनि पहिलेको भन्दा तुलनात्मक रूपले अलि ज्ञानी हुँदै गएका थियौँ।
हङकङबाट कवि हाङयुग अज्ञातले नामी जुत्ता पठाइदिनुभएको थियो। त्यो जुत्ता लाएर खुट्टा उचाल्दै ‘हङकङबाट हाङयुग दाइले पठाइदिनु भएको, ल हेर केटा हो’ भन्दै फुर्ती देखाउँदै यतै जयदुर्गेतिरैबाट पाइला चालियो। एक वर्षपछि उहाँ आउनु भो। उही जयदुर्गेमा युवराज भट्टराईले ठुलो स्वरमा हाँस्दै ‘दाजु अब चन्द्रवीरलाई जुत्ता होइन, पन्जा पठाइदिनु। तपाईंले पठाइदिनु भएको जुत्ता लाएर खुट्टा उचालेर हाम्रो अनुहार वरिपरि हेर केटा हो भन्दै घुमायो। त्यसैले दाजु, पन्जा मात्र पठाउनु।’
हाङयुग अज्ञात ‘आआआहाहाहा’ गर्दै अनुहार रातो भइन्जेल बेस्सरी हाँस्नुभएको थियो। त्यसमा हामीले फेरि गलल हाँसो थपेका थियौँ।
…
“कहाँ छस् ए चन्द्रवीर?”
“दाजु म जयदुर्गे,” अघिल्लो साँझ सँगै सुतेका साथीहरू अलि छिटो उठेर गइसकेका थिए। म अलि अबेर उठेको थिएँ।
“ल उठेर आइजा, म चिया पिउँदै छु। तँ र म भात खान थकाली जाऊँ।”
म पुग्दा भृकुटीमण्डपको सुनिता खाजाघरमा राजन मुकारुङ चियासँगै एउटा हातमा चुरोट च्यापेर बसिरहनु भएको थियो। खिस्स हाँस्दै चुरोट च्यापेको हात उचालेर उहाँले भन्नुभयो, “ए अनि सीबी हाउसबाट आइयो?” अनि मुकारुङले अर्को हातले कप तानेर चिया सुरूप्प पारेपछि फेरि एक पटक खिस्स हाँस्नु भो। म अलमलमा परेँ। चुरोटको ठुटो एस्ट्रेमा राख्दै ‘केटाहरूले सीबी हाउस खोलिसकेछन्’ भन्नु भो।
मैले प्रतिउत्तरमा ‘हाहाहा’ गरेँ। जयदुर्गे गेस्टहाउसले यसरी नयाँ नाम पाएको थियो। अब जयदुर्गे हाम्रो सर्कलमा सीबी हाउस भयो। आजभोलि ‘त्यो सीबी हाउस’ भन्दै रोमाञ्चित र नोस्टाल्जिक हुन्छन् साथीहरू।
उनै न्वारनकर्ता राजन मुकारुङको उपन्यास दमिनी भीरले उनन्सत्तरी सालको मदन पुरस्कार जित्यो। त्यसपछि हाम्रो उल्लासको मिटर बढेर आयो। नबढ्ने कुरै भएन। पहिलो साँझ जयदुर्गे प्याक थियो। दोस्रो साँझदेखि कैयौँ साँझहरू हामीले मदन पुरस्कारको सेलिब्रेसनको मिटर बागबजारको खाजा होटेलका टेबुलहरूमा नाप्दै उही सीबी हाउसलाई लगातार वासस्थान बनायौँ। पुरस्कार थाप्ने दिन नै पुरस्कार राशि बराबरको गणित लगभग चैट भएको थियो। उति बेला मदन पुरस्कारको राशि जम्मा दुई लाख रुपैयाँ थियो।
हाम्रो लागि जयदुर्गे उर्फ सीबी हाउस हार्दिक र आत्मीय थियो। राती अबेरसम्म पर्खिन्थ्यो। ढोका खोलिदिन्थ्यो। मेरो हकमा त एक्लै आएको साँझ रुम चार्जसमेत सहुलियत हुन्थ्यो। यसरी एक्लै आएको बेला साहुजीले “सीबीजी खाना खाइयो?” भन्दै प्रश्न गर्थे। मैले टाउको हल्लाउँदै “छैन” भनेको साँझ साहुजीबाट आदेश हुन्थ्यो, “सीबीजीलाई मसिनो मीठो सिठोपिठो खाना खुवाउनु।”
राजनीतिक पार्टीहरूको अधिवेशन र भेला हुँदाका बखत बागबजार या भृकुटीमण्डप एरियामा राती होटेलको कोठा पाउन एकदमै मुस्किल हुन्थ्यो। पार्टीका कार्यकर्ता र प्रतिनिधिहरूको चाप थामिनसक्नु हुन्थ्यो। तर त्यस्तो परिस्थितिमा पनि मेरो लागि जयदुर्गेले सिंगल बेडको कोठा छुट्याएर पर्खिरहेको हुन्थ्यो। कहिलेकाहीँ सिंगल बेड प्याक हुँदासमेत कर्मचारी भाइहरूले आफ्नो स्टाफ बेडमा राख्थे।
बेलाबेला काकाकुल भएको घाँटी र अलिअलि मरुभूमिझैँ शरीर बोक्दै हामी गेस्टहाउसको ढोकाबाट प्रवेश गर्ने बित्तिकै स्टाफहरूसँग पानी माग्थ्यौँ। आधा जति रहेको पानीको जार देखाउँदै “उ त्यहाँ छ, लानु” भन्थे। काँध चढाउँथे साथीहरू। “म छु नि” भन्दै फणीन्द्र संगमले दुई तीन पटक पानीको जार उठाएको याद छ। अँ, हाम्रो हुलमा कोहीकोही चाहिँ प्रेमको महाआख्यान मुटुमा बोकेर हिँडेका दुःखी-प्रेमीहरू थिए। ती साथीहरू सिरकमा गुटुमुटु डल्लो परेर रातभर प्रेमिकाको ढुकढुकी फोनमा सुन्थे। प्रेमिकाको धड्कन र आफ्नो धड्कनको पुल बनाएर भर्चुअल दुनियाँको किनारामा भेट गर्थे। बिहानै आँखा मिच्दै निद्रामै उठेर ड्युटी जान्थे।
प्रेमीहरूको आफ्नै प्रकारको दुःख थियो।
...
सबैभन्दा धेरै पटक, सबैभन्दा धेरैओटा साँझहरू रमन पौडेल, दीपक सापकोटा र मैले जयदुर्गेमा बिताएका छौँ। बीएन पब्लिकेसन्सबाट प्रकाशित हुने मासिक साहित्यिक पत्रिका ‘पाण्डुलिपि’मा सम्पादन कला प्रदर्शन गरेर अन्नपूर्ण पोस्ट दैनिकको शनिबारीय परिशिष्टांक ‘फुर्सद’ सम्हाल्न पुगेको थियो सापकोटा भने पौडेल नेपालीपत्रडटकम अनलाइन खबरमा काम गर्थ्यो र उपत्यकाभित्रको कुनै कलेज पढाउँथ्यो।
सम्झन्छु, त्यो बेलाको फुर्सद बलिया साहित्यिक लेख र बहस बोकेर हरेक शनिबार बिहान पठनयोग्य भएर बजार आइपुग्थ्यो। आगामी हप्ता फुर्सदको लागि केके विषय ल्याउने, उक्त विषयहरूमा कसकसलाई लेखाउने र कसरी समावेशी बनाउने, कसरी नयाँ-पुराना लेखकहरूलाई कसरी समेट्ने? यी यावत कुरामा सामूहिक मन्थन र विमर्श गर्थ्यो सापकोटाले। यही क्रममा ‘चन्द्रवीरको पछिपछि’ शीर्षकमा मेरो जीवन शैलीमाथि लामो तर भव्य लेख लेखेर फुर्सदमा कभरस्टोरी बनाएर छापेको थियो।
उक्त लेख छापिएपछि सापकोटा आलोचनाको सिकार बन्यो। पिठ्युँ पछाडि अनेक कुरा हुन्छन्। यसलाई उति ठूलो विषय मान्दिनँ, प्राथमिकतामा राख्दिनँ। कुरा काट्ने हामी (मानिसको आम बानी वा रोग) बाट म पनि कहाँ ओभानो छु र? तर बजारमा सापकोटाले दुस्मन कमायो। यसको लागि डियर साथी, मलाई माफ गर। विषय म थिएँ, जसले गर्दा तिमीले धेरै बेकारका आरोप, अनावश्यक गाली र लाञ्छना खेप्नु पर्यो।
शिल्पी थिएटरले हरेक महिनाको अन्तिम शनिबार दुई कविहरूको कविता वाचन गराउँथ्यो। एउटा शनिबार कविद्वय भुपिन खड्का र रामगोपाल आँसुतोषको कविता वाचन क्यालेन्डरमा परेको थियो। विडम्बना! त्यो दिन महाभूकम्प गयो। धेरै धनजनको क्षति देशले भोग्यो। उक्त शनिबार कोठाबाट भाग्दै शिल्पीको प्राङ्गण पुगेँ। भुपीनलगायत केही साथीहरू झोक्राएर बसेका थिए। मेरो पालो भुपीनको ज्यानको सुरक्षाको जिम्मा लिँदै नयाँ बानेश्वर हुँदै उनलाई बागबजार पुर्याएँ। साथमा प्रसन्न घिमिरे र संघर्ष क्षेत्री पनि थिए। प्रत्येक मानिसका आँखा त्रासले निलेको थियो। अनुहारमा भय र मृत्युको भुमरी उठिरहेको थियो।
यस्तो बेला हामी मात्रै कसरी बेग्लै हुन सक्थ्यौँ र! “केही हुँदैन दाइ” भन्दै साँघुरा गल्तीगल्ली लगेँ। मेरो इरादा जयदुर्गेको स्थिति बुझ्नु थियो। ठ्याक्क जयदुर्गे गेस्टहाउसनेर पुग्यौँ। ढोकामा ताल्चा झुन्डिएको थियो, तर गेस्टहाउस सही सलामत उभिएको थियो। सरर नियालेँ, मनमनै खुसी भएँ। पहिल्यै एउटा रात भुपीन पनि यहाँ बास बसिसकेको थियो। त्यसपछि हामी होटेल हार्दिकको आँगन टेक्यौँ। आँगन अलि फराकिलो थियो। भूकम्पबाट भाग्दै ज्यान जोगाउन आइपुगेका हुल जम्मा भएको थियो त्यहाँ। हुलमा कवि विमला तुम्खेवा र उहाँको आमासँग पनि भेट भएको थियो। हामीले त्यो रात होटेलको खुला आगमनमा बितायौँ। भोलिपल्ट बिहानको भोजनपछि छुट्यौंँ। सिंगो मूलक त्रास र भयको पन्जामा परेर ऐँठन परेको थियो।
कहालीलाग्दो महाभूकम्पले पुर्याएको अपूरणीय क्षति र पीडाको खण्डहरबाट धुलो टकटकाउँदै उठेर देश बिस्तारै लयमा उभिन थाल्यो। भयको पन्जाबाट उम्केर हिँड्न शुरू गरे दिन। घडीको काँटासँगै शान्त हुन थाल्यो वातावरण। चोक, बजार र पसलका सटरहरू बिस्तारै खुल्न थाले। हामी फेरि उही जयदुर्गे गेस्टहाउस जम्मा हुन थाल्यौँ।
जयदुर्गेमा बास बस्ने हामीहरूमा आम मानिसका जस्तै मौलिक दुःख थिए। हामीसँग तनाव, पीडा, चोट र आँसु थियो। कहिलेकाहीँ कोठा हामीसँगै सुक्सुकाउँथ्यो। आँसुले सिरानीको एक छेउ चिसो भिज्थ्यो। एक साँझ म आमालाई सम्झेर टेबुलमा घोप्टिँदै निकै बेर यहीँ रोएँ। आफ्नो भाइलाई एयरपोर्टबाट जापान उडाएर दीपक सापकोटा त्यो साँझ मसँगै रोएको थियो। चन्द्रनिगाहपुर निवासी कवि जेनन नेपालले विदेश जाने बखत अँगालो हाल्दै जयदुर्गेकै कोठाबाट शुभयात्रा भनेका थिए। पहिलो पटक कवि भाइ निमेष सापकोटासँग यहीँ भेट भएको थियो। उसलाई जेननले लिएर आएको थियो। यी दुई कविहरू अहिले अस्ट्रेलिया पुगेका छन्, गच्छे अनुसार दुःख गरिरहेका छन्।
जयदुर्गेमा सबैभन्दा धेरै साथीहरूसँग बसेको थिएँ भने सबैभन्दा धेरै एक्ला क्षणहरू पनि बिताएको थिएँ। एक्लो हुँदा कविता, उपन्यास र कथाहरू पढेँ। कति नयाँ कविता लेखेँ। कति अधुरा कवितालाई पूर्णता दे'को थिएँ।
“चन्द्रवीर, तिमी अनिवार्य एक दुई जना साथीसँग बस। एक्लै सीबी हाउसमा नबस यार, गायक अरुण थापाको हाल हुन के बेर? के थाहा?” एक दिन चियागफमा मित्र जगदीश अधिकारीले सम्झाएको याद छ। जयदुर्गे गेस्टहाउसको छेवैमा रहेको होटेल कान्तिपुरको एउटा कोठामा सुप्रसिद्ध गायक अरुण थापाले आफ्नो जिन्दगीलाई सदाको लागि बिसाएका थिए।
…
“सीबीजी, मैले गेस्टहाउस बेचिदिएँ। हप्ता दिनपछि नयाँ साहुजी आउँछ। तपाईंहरू आइराख्नु होला। मैले इमाडोलमा घर बनाएँ। अब उतै सर्छु।” गणेश श्रेष्ठ साहुजीले एक दिन भने।
“दाइ, मैले नयाँ साहुजीलाई तपाईं र तपाईंका साथीहरू नियमित आउँछन् भनेको छु। अप्ठ्यारो नमान्नु, आउनु है। म पनि यो हप्ताभरि मात्रै बस्छु होला। विदेश उड्दैछु,” जयदुर्गेको एकाउन्टेन्ट सन्तोष केसीले विदेश जाने कुरा सुनाए अर्को दिन।
नयाँ साहुजीले चलाउन थाले गेस्टहाउस। दुई चार पटक छिर्यौँ। पछिल्लो पटक रातको दस बजेतिर ढोका ढक्कढक्काएँ। ढोका खोलेर नयाँ साहुले “सर तपाईं र तपाईंका साथीहरूलाई कोठा दिन सक्दिनँ” भने। “किन, के भयो र?,” सोधेँ। “तीन चार दिन पहिले तपाईंका साथीहरूले हामीसँग बेस्सरी झगडा गरे। त्यही भएर अब तपाईंहरूको लागि कोठा छैन।”
लाचार प्राणीझैँ उनले अनुनय गरिरहे, “तपाईंलाई कोठा दिएपछि तपाईंका झगडालु साथीहरू पनि आउँछन्। सरी, अन्तैतिर जानुहोला।” यसो भन्दै नयाँ साहुले ढोका गड्याम्म लगायो। ढोका लगाउँदाको ‘गड्याम्म’ आवाज मेरो छातीमा ढुंगा बनेर बज्रियो। कुनै परायाले घर कब्जा गरेपछि घरधनी बेघर भएझैँ दर्द बोक्दै त्यस रात बागबजारकै अर्कै गेस्टहाउसको कोठामा शरण लिएँ। निद्रा लागेन, ‘मिनिरल वाटर’ पिउँदै रात कटाएँ।
“चन्द्रवीर, सीबी हाउसको साहुजी गणेश श्रेष्ठको एक हप्ता अघि निधन भएछ।,” रमन पौडेलले पीडा मिश्रित आवाजमा फोनमा भन्यो एक दिन। म खङ्रङ्ङ भएँ। फोन राखेँ। भावशून्य भएर टोलाएँ। कोरोना महामारीको दोस्रो लकडाउनको कुरा थियो यो।
…
हामीले जयदुर्गेमा साहित्य, सिनेमा र मौलिक लेखनबारे धेरै तर्क वितर्क गरेका थियौँ। कयौँ कवितामाथि गम्भीर विमर्श यहीँ भएका थिए। राजनीतिक घटनाक्रम, पहिचान सहितको संघीयता तथा धर्म निरपेक्षतामाथि यही भवनको चार किल्लाभित्र वकालत गरेका थियौँ। यहाँ हामीले के के मात्रै गरेनौँ? झगडा गरेका थियौँ। रोएका थियौँ र सँगै हाँसेका थियौँ। लगभग सात वर्षभन्दा लामो समय एउटै परिवार भएर हामी जयदुर्गेमा अनेकन् जिन्दगी बाँचेका थियौँ। यी सबै पलहरूको साक्षी बनेर उभिएको थियो जयदुर्गे गेस्टहाउस।
त्यसपछिका दिनहरू पातलिँदै गए। म कमै मात्र बागबजार जान थालेँ। भेटघाटहरू हाम्रो लागि फिका चियाजस्तो खल्लो हुँदै गयो। यही तोड र छटपटीमा ‘गल्लीमा दीपक सापकोटा र रमन पौडेल’ शीर्षकको कविता लेखेको छु, जुन अप्रकाशित छ।
…
शंकरदेव क्याम्पसबाट तपाईं अगाडि बढेपछि तरकारी बजार पुग्नु हुन्छ। थोरै अघि बढेपछि बायाँतिर मोडिने बाटो आउँछ। सिधा बायाँ जानुहुन्छ भने भृकुटीमण्डपको फनपार्क निस्किनुहुन्छ। दायाँतिर लाग्नु भो भने ओरालो अलिकति बगेको सानो गल्ली आउँछ। ठिक त्यसको कुनामा अर्को रङको लुगा (पेन्टिङ) मा सजिएर अचेल आरोहण बोइज होस्टेलको बोर्ड छातीमा सिउरेर बडो घमण्डसाथ एकदमै बिरानो भएर उभिएको छ–उहिलेको हाम्रो पुरानो जयदुर्गे गेस्टहाउस। अर्थात् सीबी हाउस।
(तुम्बापोको ‘भीरैभीर रङ्गैरङ्ग’ कविता संग्रह प्रकाशित छ। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

बहुत मज्जा आयो । गज्जबको संस्मरण ।
Acharya Gopal
6 months, 2 weeks ago