उर्वशी: आधुनिक कल्पनामा लेखिएको पौराणिक कथा

प्रेमको विषयमा लेखिएको यो उपन्यास वियोगान्त भएता पनि पाठकले सुखद र सहज रूपमा स्वीकार गर्ने खालको छ। अध्याय नौमा लेखिएको गोत्र र गणबारे ज्ञान गहन किसिमको छ।

हिन्दू धर्मका विभिन्न दस्ताबेजहरूमा उर्वशीको बारम्बार वर्णन गरेको पाइन्छ। ऋग्वेदको १० औं मण्डलको ९५ औं सूक्तमा उर्वशीबारे पहिलो पटक उल्लेख गरेको पाइन्छ। उक्त वेदको ‘पुरुरवा-उर्वशी सूक्त’का १८ मन्त्रमा उर्वशी र पुरुरवा बीचको संवाद उल्लेख छ। अथर्ववेदमा केही उल्लेख भएता पनि शतपथ ब्राह्मणमा उर्वशी र पुरुरवाबीच विवाहको कथाको बयान गरिएको छ। महाभारतमा ऋषि विभाण्डक उर्वशीको सुन्दरताबाट उत्तेजित भएको र परिणामस्वरूप ऋष्यश्रृङ्गको जन्म भएको उल्लेख छ। त्यस्तै, उर्वशीले अर्जुनलाई प्रलोभनमा पार्ने प्रयास गरेको, तर उनले पुरुरवाससँगको विगतमा भएको विवाह कारण पूर्वज मातृ-मूर्ति मानेर उर्वशीको प्रस्ताव अस्वीकार गरे अर्जुनले। त्यसबाट रिसाएकी उर्वशीले अर्जुनलाई ‘एक वर्षको लागि नपुंसक होस्’ भन्ने श्राप दिएको उल्लेख छ। रामायणमा उर्वशीलाई इन्द्रको दरबारमा भएका प्रसिद्ध पाँच अप्सरामध्ये एक नर्तकीको रूपमा उल्लेख गरिएको छ।

भागवत पुराणमा ऋषि नारायणको तिघ्राबाट उर्वशीको जन्मबारे, विष्णु पुराणमा उर्वशी र पुरुरवासको वंश र अन्य कथाको विवरण, मत्स्य पुराणमा विभिन्न सन्दर्भ, वायु पुराणमा चन्द्रवंशको सम्बन्धमा, देवी-भागवत पुराणमा उर्वशी-पुरुरवाको विवाह सम्झौताको कथा र स्कन्द पुराणमा उर्वशीको अघिल्लो जन्म र उत्पत्तिको वर्णन पाइन्छ। पछि कवि कालिदासले इस्वीको चौथो/पाँचौँ शताब्दीमा विक्रमोर्वशीयम्स् नाटकमा उर्वशी-पुरुरवासको प्रेमकथाबारे लेखे भने कथासरितसागरमा उर्वशी-पुरुरवासको कथालाई पुनः वर्णन गरिएको छ। यसैगरी, बृहद्देवतामा पुनः ऋग्वेदिक किंवदन्तीलाई विस्तार गरिएको छ। यति धेरै मात्रामा लेखिएका पात्र उर्वशी र पुरूरवाबारे पुनः एक पटक साउन २०८२ मा नेपाली भाषामा देवीप्रसाद सुवेदीद्वारा लेखिएको उर्वशी नामको उपन्यास प्रकाशनमा आएको छ। 

वेद, पुराण, काव्य र अन्य आख्यानमा जस्तै ‘उर्वशी’ उपन्यासमा मुख्य पात्र उर्वशी र पुरुरवा नै छन्, तर अन्यत्र लेखिएभन्दा अलिक फरक छ कथा। उपन्यासमा प्रस्तुत कथा छोटो छ। वेद, पुराण र काव्यमा उल्लेख विभिन्न पात्रको नाम प्रयोग भए तापनि कथाको पृष्ठभूमि र विषयवस्तु अलग खालको छ। उपन्यासको सुरुवात इन्द्रको देवलोक र ऐल राज्यबीच रहेको नदी तरेर उर्वशीसहित उनका सखीहरू; सुनयान, सुकेशी, सुश्रोणी, सुस्तनी र मन्दगामिनी पर्वतीय प्रदेशमा घुम्न आउँदा उर्वशीको र सुन्दर नवयुवक पुरुरवाको भेटबाट हुन्छ। पुरुरवालाई देखेर उर्वशी सम्मोहित भई पागलतुल्य हुन्छिन्।

एक दिन देवलोकस्थित वैजयन्त प्रासादको रङ्गमञ्चमा नाच सुरु गर्नुपूर्व पुरुरवाको बुबा बुधलाई देख्दा पुरुरवा नै आए भन्ने ठानेर नृत्य अघि नै नै उर्वशीको क्रमभङ्गता हुँदा इन्द्रले आफ्नो र देवलोकका अतिथिको अपमान भएको महसुस गरे र उर्वशीलाई त्यहाँबाट हटाउने आदेश दिए। यसको सजाय स्वरूप उर्वशीलाई कैदमा राखिन्छ। पछि उर्वशी आफूलाई छोड्न र आफूले पुरूरवासँग भेट गर्न चाहेको कुरा व्यक्त गर्छिन्। उता उर्वशी देखेर सम्मोहित पुरूरवा पर्वतीय जातको घोडा चढेर कठिन मार्ग हुँदै छद्म भेषमा अमरावतीबाट उर्वशीकी सखी सुकेशीको सहयोगमा उनलाई भगाएर आफ्नो राज्यमा ल्याउँछन्। देवलोकमा भने सहयोगी सुकेशी उर्वशी सट्टामा कैदमा पर्छे। बिहेको निक्कै समयपछि पुरूरवाकी आमा इलाले राज्य उत्तराधिकारीको रूपमा उर्वशीको कोखबाट पुत्रलाभको अपेक्षा राखेको कुरा व्यक्त गर्छिन् तर उर्वशी मान्दिनन्।

अचानक एक दिन हिमाली क्षेत्रमा उर्वशी एक्लै घुम्न जाँदा एउटी भेडीले शिशु जन्माएको देखेर उनमा पनि मातृत्वको भावना पैदा हुन्छ। पुरूरवाकी प्रेमिकाभन्दा माथि उठेर जननी र भार्या दायित्व पूरा गर्ने बाचाअनुरूप अन्ततः आयुलाई जन्म दिन्छिन्। देवलोकको नाट्यशालाकी कुशल र सुन्दरी नर्तकी उर्वशीलाई ऐल राज्यका राजकुमार पुरुरवाले हरण गरेकाले रुष्ट भएका इन्द्रले जुनसुकै अवस्थामा पनि ऐल राज्यमा आक्रमण गर्ने सम्भावना रहन्छ। त्यसलाई टार्न उर्वशी देवलोक फिर्ता हुन्छिन्। पुरूरवासँगको दाम्पत्य विच्छेद र छोरा आयुसँगको मातृ वियोगको वेदना सहेर पनि देवलोकस्थित वैजयन्त प्रासादको नाट्यशालामा नृत्यमा संलग्न भइरहन्छिन् उर्वशी।

केही वर्षपछि उर्वशीले नाट्यशालासँगै अप्सरागणबाट पनि अवकाश लिएर नाट्यश्वर शिवको सट्टा परात्मा शिवसँग नजिक हुन चाहन्छिन्। अब उर्वशी र सुकेसी कैलाश पदयात्रामा निस्कन्छन् र उकालो हिँड्दै गर्दा हिम पहिरोमा परेर आफ्नो प्राण त्याग गर्छिन्। सरसरती कथा छोटो छ तर पनि बीचबीचमा अन्य प्रसंग राम्रोसँग जोडिएका छन्। किताबमा उर्वशीको गन्धर्व परिवारमा चम्पाकलीको रूपमा जन्म, देवलोकको यात्रा, उनको हरणपछिको देवलोकको अवस्था, पुरूरवाकी आमा इलाको बुहारी उर्वशीसँगको सामीप्यका कुरासँगै  देवलोक, ब्याक्ट्रिया र ऐल राज्यबीचको राजनीतिक अवस्थाको सटिक वर्णन पाइन्छ।

उर्वशी उपन्यास नितान्त काल्पनिक कथावस्तुको रूपमा प्रस्तुत गरिएको र यसको कथा यो भन्दा अगाडि लेखिएका कुनै पनि दस्ताबेजको कथासँग मेल खाँदैन। केही ठाउँका नाम र पौराणिक पात्रहरू मात्र मिल्दछन्। हुन त अत्यन्त सुनिएको र पढिएको कुनै पनि विषयमा केही लेख्दा दोहोरिने र लेखिएको नयाँ कुरा पनि बासीजस्तो लाग्ने भएकाले लेखक सुवेदीले चलाखीपूर्ण रूपमा पुरानो कथालाई आफ्नो कल्पना शक्ति प्रयोग गरेर नयाँ रूपमा प्रस्तुत गरेका छन्। पौराणिक मिथकमा आधारित भइकन भिन्न खालको यो उपन्यास लेखकको लोकप्रिय अर्को उपन्यास ‘मनु’ पछिको सशक्त सिर्जनाको रूपमा देखा परेको छ। उपन्यासमा परिष्कृत भाषा प्रयोग गरिनुका साथै बेलाबेला दर्शनको पनि प्रयोग भएको छ।

उदाहरणको लागि लेखकले अस्ताउँदै गरेको सूर्यबारे लेख्छन्–सूर्यविम्ब तप्त (सुवर्ण पिण्ड अस्ताचलतिर झरिरहेको थियो) (पृष्ठ ७०)। पौराणिक कथाअनुसार उर्वशीको जन्म भगवान् नारायणको तिघ्राबाट भएको र उनको नाम संस्कृत शब्द ‘उरु’ (तिघ्रा) र ‘वशी’ (आफ्नो वशमा राख्न सक्ने) बाट बनेको उल्लेख भएता पनि यो उपन्यासमा लेखकले अरूको हृदय (उर) लाई वशमा लिन समर्थ नै उर्वशी हुन् (पृष्ठ ९२ मा) भनेर लेखेका छन्। किताबमा पौराणिक कालमा महिलाको शोषण भएको लेखिएको छ। लेखकले राजा इन्द्र स्त्रीप्रति अगाध मोह भएका व्यक्ति रहेको र आफ्नो राज्यको सान प्रदर्शन गर्ने आडम्बरी स्वभावका साथै चलाख राजाका रूपमा दर्साएका छन्।

राज्य बचाउन लड्ने-भिड्ने मात्र नभएर साम, दाम र दण्डभेद सबै खालका उपाय अवलम्बन गर्ने पात्रका रूपमा इन्द्रलाई कथामा प्रस्तुत गरिएको छ। धर्मसँग जोडिएका पात्रबारे लेख्दा संवेदनशील हुने कुरालाई लेखकले ध्यानमा राख्दै देवराज इन्द्रको चरित्र सहज रूपमा परिचय गराउँदै उनी खासगरी अप्सरागणका नर्तकीहरूको शरीर भोगमा निकै अघि रहेको देखाइएको छ। रोमाञ्चक शैलीमा ती सन्दर्भ कथामा उल्लेख गरिएको छ। प्रेमको विषयमा लेखिएको यो उपन्यास वियोगान्तपूर्ण भएता पनि पाठकले सुखद र सहज रूपमा स्वीकार गर्ने खालको छ। अध्याय नौमा लेखिएको गोत्र र गणबारे ज्ञान गहन किसिमको छ। 

हिन्दू धर्मको ऋग्वैदिक कालमा उर्वशी र पुरूरवाको कथा पढ्न पाइन्छ भने पछि फेरि महाभारतको कथामा उर्वशी र अर्जुनको कथा पढ्न पाइन्छ। ऋग्वैदिक काल समयावधिको कुरा गर्दा उक्त अवधि आजभन्दा करिब ३ हजार दुई सय २५ वर्षदेखि ३ हजार पाँच सय २५ वर्षसम्मको हो भने महाभारत काल चाहिँ दुई हजार आठ सय २५ देखि दुई हजार नौ सय २५ सम्मको हो। तर यति लामो समयावधिमा आउने पात्र उर्वशी एकै हुन् वा फरक उर्वशी हुन् भन्नेचाहिँ कतै उल्लेख भएको पाइँदैन। किताबमा लेखक सुवेदीले पनि पौराणिक केही कुरा समयावधिलाई अन्य ठाउँमा लेखिएजस्तै नमिलाई प्रस्तुत गरेका छन्।

उनले उर्वशी र पुरूरवाको प्रेम कथामा उर्वशीलाई केन्द्रमा राखेर उहिलेको देवलोक, ऐल राज्य र ब्याक्ट्रिया राज्यको प्रसंग फरक-फरक ठाउँमा उल्लेख गरेका छन्। ब्याक्ट्रिया राज्य हालको मध्य एसियाली देश उज्बेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानमा अवस्थित थियो। यो राज्य महाभारत कालमा अस्तित्व आई पछि महान् सिकन्दरले विजय हासिल गरेपछि छिन्नभिन्न भई केही न केही रूपमा करिब दुई हजार छत्तिस वर्ष अघिसम्म अस्तित्वमा रहेको थियो। लेखकले लेखेजस्तो प्राचीन ब्याक्ट्रिया राज्य महाभारत कालमा अस्तित्वमा आएको र उर्वशी-पुरूरवाको अस्तित्व ऋग्वैदिक कालमा भएको हुनाले समयावधि एकापसमा मेल खाँदैनन्। 

कुल तीन भाग र १८ अध्यायमा लेखिएको उर्वशी उपन्यास पढ्दै जाँदा सहजै रूपमा बगिरहेको कथावस्तु अध्याय ६ मा आएर अनायासै टुङ्ग्याएर अध्याय सात बनाइएको र त्यसैगरी अध्याय आठ पनि अपर्झट टुङ्ग्याएर नौ बनाइएजस्तो महसुस हुन्छ। यी चार वटा अध्याय लेखनको सन्तुलन मिलाएर जम्मा २ अध्यायमा लेखेको भए किताबको आकार त सानो हुन्थ्यो, तर तानतुन पारेर लामो बनाइको महसुस हुँदैन थियो कि? उर्वशीको हरणपछि के कसो गर्ने भन्ने विषयमा भएको छलफलले नै पुरै अध्याय ओगटे पनि सभा विना कुनै निष्कर्ष टुंगिनुले अध्याय छ र सात अपूरा झैँ लाग्छन्।

कथा पढ्दै जाँदा कथावस्तुको भूगोलको चित्र काल्पनिक रूपमा कोर्ने हो भने तीन राज्य देवलोक (अमरावती), ऐल राज्य, ब्याक्ट्रिया राज्यसँगै क्षीर सागर, केतकी नदी, मन्दाकिनी नदी, ऐलम पर्वत र कैलासजस्ता ठाउँको उल्लेख छ। समुन्द्र मन्थनको स्थान वा भगवान् विष्णुको वासस्थान क्षीर (दूध) सागर (काल्पनिक रूपमा अहिलेको हिन्द महासागर) अनि उपन्यासमा लेखिएको ऐलम पर्वतलाई नै ॐ पर्वत मान्ने हो भने यो ठाउँ अहिलेको कुमाउँ राज्यमा पर्न आउँछन्। यसरी भूगोलको वर्णनमा समस्या भएकोले यिनको मेल पौराणिक कथा अनुसार छैन। यद्यपि, उपन्यासमा वर्णन गरिएको भगवान् शिवको पवित्र दिव्य निवास कैलाश पर्वत र मानसरोवरको भूगोल, अवस्थिति र चित्रण भने सही छ। उपन्यास पढ्दै जाँदा अन्त्यतिर यल राज्यमा उर्वशी चार वर्षसम्म बस्दा समेत शक्तिशाली यमलोकले किन फिर्ता ल्याउन सकेन भन्ने प्रश्न खडा हुँदा समेत उपन्यासको लेखाइ र शैलीले उक्त प्रश्नलाई फितलो भने पक्कै बनाएको छ। 

किताबमा केही भाषिक र शाब्दिक त्रुटिसमेत भेटिन्छन्। 

पर्वतीय मार्ग रेखाको वर्णन गर्दा लेखकले ‘... तल झरेपछि धुपी, सल्ला र उत्तिसलगायत सघन वृक्ष…’ (पृष्ठ ३२) भनेर उल्लेख त गरेका छन्, तर भौगोलिक रूपमा धुपी अलि माथिल्लो उचाइमा सल्लो अलि सुक्खा ठाउँ र उत्तिस अलि ओसिलो वा खोल्साखोल्सीमा पाइने भएकोले प्रकृतिमा रहेको अवस्थासँग थोरै मेल नखाएको हो कि भन्ने महसुस हुन्छ। यसै गरी लेखकले उहिलेको कृषि उत्पादनको कुरा गर्दा ‘...उत्पादनहरू (जौ, आलु, फापर, करुको पुष्पित बोटबिरुवाहरूलाई…’ (पृष्ठ ७०)  र घरपालुवा जनावरको कुरा गर्दा ‘...चौरमा समूह-समूह चर्दै गरेका चौँरीहरू’ (पृष्ठ ७०) भनेर उल्लेख गरेका छन्। तर पेरुमा उत्पन्न भएको आलु धेरैपछि १५-१६ औं शताब्दीतिर मात्र एसिया भित्रिएको आलु त्यो बेला यल राज्यमा थियो भन्नु उचित लाग्दैन र उहिले चौँरी घरपालुवा जनावर भइसकेका थिए भन्नु युक्तिसंगत लाग्दैन। त्यसैले आलुको ठाउँमा कन्दमूल र चौँरीको ठाउँमा जनावर वा उन्नत जातका गाई उल्लेख भएका भए उपयुक्त हुन्थ्यो। यस्तै केही कुरामा अलि ध्यान दिएको भए वर्णन यथार्थपरक हुन्थ्यो होला।

कुल १८२ पृष्ठको उपन्यास छोटो नै हो, तर प्रकाशक बुकहिलले चलाखीपूर्ण रूपमा हरफहरू बीच अनावश्यक रूपमा ठाउँ छोडेर र संवाद गरिएको ठाउँमा दायाँबायाँ पुन: ठाउँ कम छोडेर किताबको आकार बढाएको छ। डिजाइनरले अनावश्यक रूपमा ज्यादा ठाउँ नछोडेका भए किताब १२०-२५ पृष्ठभन्दा कममै छापिने मात्र नभई अलि सस्तो पनि हुन्थ्यो। यसमा प्रकाशकले पाठकलाई किताबलाई बाक्लो बनाई अलि महँगो देखाउने कोसिस गरेका छन्। आखिर किताब बिक्री हुन निश्चित आकारको बनाउनुभन्दा इमानदारीपूर्वक लघुउपन्यासका रूपमा प्रकाशन गरी बजारमा सस्तो मूल्यमा ल्याएको भए बेस हुन्थ्यो। पौराणिक आख्यानमा यथेष्ट लेखिएकी पात्र उर्वशीलाई आधुनिक कल्पनाको सहारा लिँदा उपन्यास छोटो र रमाइलो भएको छ। पुस्तक किन्दा खर्च गरेको पैसा पढेपछि भने असुल भएको पक्कै महसुस हुन्छ।